काठमाडौं । समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकले हाल निक्षेप फिर्ताको काम गरिरहेको छ । बैंकले ठूलाभन्दा स–साना निक्षेप फिर्ता गरिरहेको छ । बैंकमा ठूलो रकम अपचलन भएकाले पनि त्यो खाडल पुर्न हम्मेहम्मे परेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकले अहिले निक्षेप संकलन र कर्जा प्रवाह गरेको छैन । बैंकलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन व्यवस्थापनले नयाँ योजनाका बारेमा नेपाल राष्ट्र बैंकको उच्च व्यवस्थापनसँग छलफल गरिरहेको छ ।
“अहिले अत्यावश्यक पर्ने निक्षेपकर्ताहरूलाई थोरै–थोरै सानो रकम चाहिँ दिने गरेका छौँ । ठूलो रकम दिन सकेका छैनौँ । ठूलो निक्षेप फिर्ता गर्न स्ट्राटेजिक निर्णय नै गर्नुपर्ने हुन्छ,” बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक तथा कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहका संयोजकत्व टीकाराम खतिवडाले बताए ।
यो स्ट्राटेजिक निर्णयका लागि राष्ट्र बैंकको माथिल्लो तहसँग छलफल भैरहेको उनी बताउँछन् । त्यो छलफल भइसकेपछि अर्काे चरणको काम अगाडि बढ्ने उनको भनाइ छ ।
यो बैंकमा बढीमा पाँच, साढे पाँच करोडसम्म निक्षेप जम्मा गर्ने व्यक्तिहरू छन् । उनीहरूलाई अहिले व्यवस्थापकले निक्षेप फिर्ता गर्न सकेको छैन । किनभने, बैंकको कर्जा उठ्न साढे तीन अर्ब रुपैयाँ छ भने निक्षेप फिर्ता गर्न चार अर्ब ३० करोड रुपैयाँ छ ।
ठूला निक्षेपकर्तालाई नै सेयर दिएर बैंक सञ्चालन गर्ने गरी तयारी भइरहेको खतिवडा बताउँछन् । “ठूला निक्षेपकर्तालाई नै बैंकको सेयर बेचेर बैंकलाई पुनर्जन्म दिने गरी योजना बनाएका छौँ । निर्णय भैसकेको अवस्था छैन,” उनले बाह्रखरीसित भने, “किनभने अब बैंकलाई रिभाइभ गर्नुपर्छ । रिभाइभ नगर्ने हो भने निक्षेपकर्तालाई समस्या पर्छ । समग्र वित्तीय प्रणालीलाई पनि राम्रो हुदैन ।”
“यो बैंकलाई कुन स्ट्राटेजीबाट रिभाइभ गर्ने भन्ने विषयमा सबैभन्दा उपयुक्त विकल्प निक्षेपकर्तालाई सेयर दिए हुन सक्छ,” खतिवडा बताउँछन् । करिब डेढ अर्ब रूपैयाँको कर्जा–निक्षेप ग्याप देखिएपछि यो रकमबराबरको नयाँ सेयर जारी गरेर बैंकको लिक्वीडिटी सहज बनाइने योजना राष्ट्र बैंकमा प्रस्ताव गरिएको छ ।






