आर्थिक वर्षको पहिलो महिनामै २४ अर्ब बढीको वैदेशिक लगानी स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा २४ अर्ब १० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागकाअनुसार साउन महिनामा विभिन्न १२७ वटा उद्योगमा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । नेपालमा कुल एफडीआई प्रतिबद्धता ६ खर्ब ७५ अर्ब ५२ करोड ७१ लाख १२ हजार १ सय ५ रुपैयाँ पुगेको छ ।

साउनमा अटोमेटिक रुटबाट ८१ र अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएको देखिएको छ । यसमध्ये अटोमेटिक रुटबाट आउने लगानी प्रतिबद्धता साना उद्योगमा केन्द्रित छ । ८१ उद्योग दर्ता भएकोमा लगानी प्रतिबद्धता ७३ करोड ३० लाख रुपैयाँको मात्र आएको छ ।

अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएकोमा २३ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

कुल ७ हजार ३ सय ६६ उद्योग दर्ता भएका छन् । साउनमा मात्र दर्ता भएका उद्योगले ८ हजार २ सय ६८ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको देखिएको छ ।

साउनमा दर्ता भएका उद्योगमध्ये साना १ सय २५ र ठूला २ छन् । मझौला प्रकृतिका उद्योग दर्ता भएका छैनन् ।

यसरी आएको लगानी प्रतिबद्धतामध्ये कृषिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । कृषिमा कुल ३ उद्योगमा २० अर्ब बराबर लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले साउनमा भैँसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानी स्वीकृत गरेको थियो ।

यस्तै, पर्यटन क्षेत्रका ४१ परियोजनामा तीन अर्ब दुई करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन कुल लगानी प्रतिबद्धताको १३ प्रतिशत हो । सूचना प्रविधिका ७१ परियोजनामा ३६ करोड ५२ लाख ४५ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रका तीन परियोजनामा १५ करोड ५० लाख रुपैयाँ, ऊर्जाका एक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ र सेवा क्षेत्रका आठ परियोजनामा ३३ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

साथै, साउन महिनामा विभिन्न आठवटा कम्पनीको सेयर खरिद सम्झौता भएको र विभिन्न पाँच वटा कम्पनीको प्रविधि हस्तान्तरण सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *