काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ३२ अर्ब ८० करोड १५ लाख रुपैयाँ आयकर बुझाएका छन् । गत वर्ष सरकारले कुल २ खर्ब ६७ अर्ब ६० करोड १५ लाख रुपैयाँ आयकर संकलन गरेकामा त्यसको १२.२६ प्रतिशत आयकर २० वटा वाणिज्य बैंकहरुले मात्रै तिरेका छन् ।
संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये कुमारी बैंकले सबैभन्दा बढी अर्थात् ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ आयकर बुझाएको छ । जुन सरकारले गत आर्थिक वर्षमा संकलन गरेको कुल आयकरको १.३७ प्रतिशत हो । योसँगै कुमारी बैंक बैंकिङ क्षेत्रमै सबैभन्दा बढी आयकर तिर्ने बैंक बनेको छ।
गत आर्थिक वर्षमा कुमारी बैंकले नाफाभन्दा बढी आयकर बुझाएर बैंकिङ क्षेत्रमै सबैभन्दा बढी आयकर तिर्ने बैंक बनेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ९९ करोड ४४ लाख रुपैयाँ आयकर तिरेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८२१ मा वाणिज्य बैंकहरुले २६ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ आयकर बुझाएका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कुमारी बैंकको करयोग्य नाफा ५ अर्ब ७८ करोड १४ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर तिर्ने दोस्रो नम्बरमा नबिल बैंक छ । नबिल बैंकले गत आर्थिक बर्षमा ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ आयकर बुझाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ३९ करोड ९० लाख रुपैयाँ आयकर तिरेको थियो ।
समिक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई र एभरेष्टले २ अर्ब रुपैयाँभन्दा बढी आयकर बुझाएका छन् । सोहीअनुसार नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले २ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ५३ करोड २७ लाख रुपैयाँ आयकर बुझाएका छन्। त्यस्तै यस अवधिमा सिटिजन्स बैंकले ५४ करोड ५१ लाख, हिमालयन बैंकले ५७ करोड ३८ लाख र प्रभु बैंकले ८६ करोड २४ लाख रुपैयाँ आयकर बुझाएका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा कम आयकर तिर्ने वाणिज्य बैंकमा एनआईसी एशिया रहेको छ। गत आर्थिक बर्षमा बैंकले ५ करोड ५१ लाख ५२ हजार रुपैयाँमात्र आयकर बुझाएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन्।






