विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाभन्दा मुक्त छैन । कोही पनि छैन । यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन ।’
पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र र गणतन्त्रबीचको भिन्नता केलाउँदै राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने धारणा राखिन् ।
उनले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो। राष्ट्रपति एउटा पद हो। यो आवधिक हुन्छ। जोसुकै पनि जनताको स-सहभागिताले निर्वाचित भएर आउन सक्छन्। उनीहरूको कार्यकाल सकिएपछि आफ्नो सामान्य जीवनमा फर्कन सक्छन्।’
उनले थपिन्, ‘म ४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको। विराटनगरमै मैले शपथ खाएको।’ राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उनले स्पष्ट पारिन्।
आफ्नो आलोचना र व्यक्तिगत आरोपहरूका बारेमा बोल्दै भण्डारीले आफू आलोचनाभन्दा मुक्त नरहेको र कोही पनि आलोचनाभन्दा मुक्त नहुने बताइन्। ‘म पनि आलोचनाभन्दा मुक्त छैन र कोही पनि छैन,’ उनले भनिन् ।






