काठमाडौं । नेपालले सन् २०२६ मा महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले घोषणा गरेअनुसार प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुनेछ।
१० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन्। यो प्रतियोगिता नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ।
बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्वालिफायरका लागि स्वतः छनोट भएका छन्।
एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ।
अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स हुँदै फाइनल खेल हुनेछ।






