बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी ४ खर्ब ४३ अर्ब नाघ्यो

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूको चुक्तापुँजी पछिल्लो एक वर्षमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । यसबाट समग्र वित्तीय प्रणाली थप सुदृढ हुँदै गएको आँकलन गरिएको छ।

संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाको शाखा संख्या हाल ६ हजार ५१८ पुगेको छ। तीमध्ये वाणिज्य बैंकका शाखा ५ हजार ९५, विकास बैंकका १ हजार १३२, र फाइनान्स कम्पनीका २९१ शाखा छन्।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तदेखि २०८२ जेठ मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल चुक्तापुँजी ७ अर्ब २१ करोड रुपैयाँले बढेर ४ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले वित्तीय संस्थाको सुदृढता मूल्यांकन गर्ने प्रमुख आधारमध्ये चुक्तापुँजीलाई विशेष महत्त्व दिँदै आएको छ।  पुँजी संरचनाको सुधारले दीर्घकालीन सञ्चालन, जोखिम वहन क्षमतामा वृद्धि ल्याउने अपेक्षा गरिएको छ ।

हाल नेपालमा संचालित २० वटा वाणिज्य बैंकहरूको मात्रै चुक्तापुँजी ३ खर्ब ८५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ अर्ब ३० करोड रुपैयाँले बढी हो।

त्यसैगरी, १७ वटा विकास बैंकहरूको संयुक्त चुक्तापुँजी ४३ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने फाइनान्स कम्पनीहरूको पुँजी १५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *