नबिल बैंकका कर्मचारीको खाता तीन महिनाको बोनसले भरियो

काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ सकिन लागेसँगै बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई बोनस वितरण गर्न थालेका छन्। यसै क्रममा निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आफ्ना कर्मचारीलाई ‘क्लोजिङ बोनस’ स्वरूप तीन महिनाको तलब बराबरको रकम खातामा जम्मा गरिदिएको छ।

नबिल बैंकले ३ महिनाको तलब बराबरको अग्रिम बोनस खातामा पठाएको हो। उक्त बोनसलाई ‘क्लोजिङ बोनस’ भनिएको छ भने बाँकी बोनस भने बाह्य लेखापरीक्षण र वार्षिक साधारणसभा सम्पन्न भएपछि वितरण गरिनेछ। बोनस ऐन, २०३० को दफा ५ अनुसार नाफा आर्जन गर्ने प्रत्येक प्रतिष्ठानले आर्जन गरेको खुद मुनाफाको १० प्रतिशत बोनस स्वरूप कर्मचारीलाई वितरण गर्नुपर्ने व्यवस्था छ। निजी बैंकहरूले सोही व्यवस्था अनुसार वर्षेनी कर्मचारीलाई बोनस दिँदै आएका छन्।

सरकारी लगानी भएका बैंकमा भने बोनसको अलग व्यवस्था छ। ती बैंकहरूले आर्जन गरेको नाफाको अधिकतम ५ प्रतिशत वा बढीमा ३ महिनाको तलब बराबर बोनस वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ। कुनै बैंकहरूले बोनस बाह्य लेखापरीक्षणपछि मात्र साधारणसभाबाट वितरण गर्छन् भने केहीले आर्थिक वर्षको अन्त्यमा ‘क्लोजिङ बोनस’का रूपमा अग्रिम तलब उपलब्ध गराउने गरेका छन्।

नबिल बैंकले सार्वजनिक गरेको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार बैंकमा हाल २४८० जना कर्मचारी कार्यरत छन्। बैंक नाफा आर्जनका हिसाबले पनि निजी क्षेत्रको अग्रणी बैंकको रूपमा रहँदै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *