काठमाडाैं । स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा पर्साका यातायात व्यवस्था कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । २ करोड ५२ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत (आठौं तह) गौतमले पदमा रहँदा मर्यादाविपरीत कार्य गरी उल्लेख्य मात्रामा अवैध सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । गौतम सार्वजनिक पद धारण गरेको मिति ७ वैशाख ०५५ देखि २४ चैत ०७९ सम्मको आम्दानी र खर्चको विश्लेषण अख्तियारले गरेको छ ।
आयोगका अनुसार गौतमले सो अवधिमा वैध स्रोतबाट जम्मा २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँको आम्दानी गरेको देखिएको छ । यो आम्दानी पारिश्रमिक बचत, श्रीमती सरला नेपालको तलब तथा भ्रमण भत्ता, घर-जग्गा बिक्री, बैंक ऋण, शेयर र सवारी साधन बिक्री, विमा, कृषि, घरभाडा तथा बैंक ब्याजलगायतबाट प्राप्त भएको हो । तर उक्त अवधिमा उनले आफन्तको नाममा घर निर्माण, जग्गा खरिद, गाडी किन्ने, बीमा भुक्तानी, अध्ययन खर्च, ऋण चुक्ता, सुन खरिद लगायतका शीर्षकमा ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ खर्च तथा लगानी गरेका छन् ।
समग्र आयबाट खर्च तथा लगानी घटाउँदा आउने २ करोड ५१ लाख एकाउन्न लाख ७८ हजार ६८७ रुपैयाँको गौतमले स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको रकमलाई नै बिगो कायम गरेर अख्तियारले गौतमविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै, राष्ट्रसेवक पदमा बहाली भएपश्चात वार्षिक रुपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाईछिपाई झुठ्ठा विवरण पेस गरेको आरोपमा थप सजायको मागदावी पनि अख्तियारले गौतमउपर गरेको छ ।
सार्वजनिक सेवामा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति पत्नी सरला नेपालका नाममा राखेको भेटिएपछि बिगो जफत प्रयोजनका लागि उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।






