ओलीले बाेलेका सबै कुराको जिम्मेवारी कांग्रेसले लिँदैन : कांग्रेस

काठमाडौँ ।  सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी कांग्रेसले नलिने स्पष्ट पारेको छ ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओली नेकपा (एमाले) को समेत अध्यक्ष रहेको बताउँदै उनले भनेका सबै कुराहरूको जिम्मेवारी लिने कुरा नभएको बताए ।

उनले भने, “प्रधानमन्त्री एमाले पार्टीको नेता पनि हुनुहुन्छ । सबै उहाँले भनेका कुराहरूको जिम्मेवारी हामीले लिने कुरा भएन । हामीलाई कब्जा सब्जामा ध्यान छैन । हामी समग्र संविधानको प्रतिरक्षाको पक्षमा छौँ ।

संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध गर्न पाइन्छ, आफ्ना कुराहरू राख्न पाइन्छ । तर, त्यो शान्तिपूर्ण तरिकाबाट राख्नुपर्दछ । संविधानको खिलाफ मै जान्छौँ भन्ने कुरा ठिक होइन भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

उनले आफूहरू समग्र संविधानको प्रतिरक्षाको पक्षमा रहेको बताउनु भयो । प्रवक्ता महतले संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध तथा आफ्ना कुराहरू राख्न पाइने जिकिर गरे । उहाँले संविधानको विरुद्धमा जाने कुरा ठिक नभएको बताए । उनले राजावादीहरूले जेठ १५ मा गर्न लागेको आन्दोलनलक्षित गर्दै संविधानविरुद्धका गतिविधिहरू कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले गणतन्त्र दिवसको दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौँ एमालेको नियन्त्रण हुनुपर्ने निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *