काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंक लिमिटेड तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामचन्द्र खनाललाई कारवाही गरेको छ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा कुमारी बैंक लिमिटेडका सीइओ खनाललाई कारबाही स्वरूप सचेत गराएको हो।
कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खनाललाई राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. २ को बुँदा नं. १ को खण्ड (क) को उपखण्ड (२) बमोजिम सूक्ष्म निगरानी कर्जा तथा खण्ड (ख) बमोजिम निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा सोही निर्देशनको बुँदा नं. ९ को खण्ड (१) बमोजिम न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको हो।
राष्ट्र बैंकको नियम उल्लङ्घन गर्नेमा कुमारी बैंकसहित ५ वाणिज्य बैंक छन्। राष्ट्र बैंकले तेस्रो त्रैमासमा ती सबै बैंकलाई पहिलोपटक कारबाही गरेको हो। यसरी कारबाहीमा पर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।






