बीमा प्राधिकरणका अध्यक्ष ओझाको योग्यतामाथि संसदमा पनि उठ्यो प्रश्न, अविलम्ब छानबीनको माग

काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिमाथि गम्भीर प्रश्न उठेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद छिरिङ डम्दुल लामाले ओझाको नियुक्ति सेटिङमा गरिएको र यसमा गम्भीर त्रुटी भएको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका छन् ।

सांसद लामाले बीमा प्राधिकरण अध्यक्ष बन्नका लागि अनिवार्य ३५ वर्ष उमेर पूरा हुनुपर्ने तथा बीमा ऐन, २०७९ अनुसारको योग्यता आवश्यक हुने उल्लेख गर्दै ओझामा यी कुनै पनि योग्यता नरहेको आरोप लगाएका हुन् ।

ओझाले कार्यानुभवको फर्जी कागजात पेश गरेर मन्त्रिपरिषद्बाट नियुक्ति पाएको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव एकनारायण अर्याल र अर्थसचिव घनश्याम उपाध्यायसमेत प्रक्रियामा संलग्न रहेको भन्दै छानबिनको माग गरे ।

लामाले ओझाको नियुक्ति ‘सेटिङ’ मार्फत गरिएको भन्दै यस्तो व्यक्तिले नेपालको समग्र बीमा क्षेत्रको विकासमा नकारात्मक प्रभाव पार्ने दावी पेश गर्दै भनेका छन्,- ” कुनै एक अनलाईन सन्चार माध्यममा सामान्य संवाददाताको रूपमा काम गरेको व्यक्तिलाई उच्च व्यवस्थापकीय अनुभव रहेको देखाउन फर्जी कागजात तयार पारिएको पाईएको छ। यसको अबिलम्ब छानबिन गरियोस्”

ओझाको नियुक्तिमा बीमा क्षेत्रका विज्ञहरु तथा संचालक व्यवस्थापकहले समेत चर्को आलोचना गरिरहेका छन् ।

ओझाजस्ता व्यक्तिलाई बीमा क्षेत्रको नियामक निकायको अध्यक्ष जस्तो जिम्मेवार पद सुम्पेर बीमा सरकारको प्राथमिकतामा छैन भन्ने प्रमाणित गरेको उनीहरुको गुनासो छ।

त्यसो त बिमाका जानकारहरु समेत सरकारले अनुभव नै नभएको ‘फुच्चे केटो’ लाई बिमा प्राधिकरणको अध्यक्ष बनाएर अरबौंको बिमा बजारमाथि भद्दा मजाक गरेको आरोप लगाउने गरेका छन्।

ओझाले न त बिमा सम्बन्धि अध्ययन गरेका छन् न त उनलाई यस सम्बन्धमा व्यवहारिक ज्ञान छ। उनमा व्यवस्थापकीय अनुभव समेत छैन । उनले एउटै मितिमा फरक फरक क्षेत्रमा काम गरेको भन्दै नक्कली अनुभव प्रमाणपत्र पेश गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर समेत भएको छ। जुन अझै बिचाराधीन छ। ओझाको योग्यता र उमेर सम्बन्धमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *