नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।
आज साेमवार काठमाण्डाैमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै कायममुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् । तरलता तथा ब्याज दरमा आएको उतारचढावका कारण समग्र अर्थतन्त्र र नागरिकले पीडा भोग्नुपरेको उनले दावी गरिन् ।
उनले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुद पनि अझै कुल जनसङ्ख्याको १८ प्रतिशत हिस्सा गरिबीकाे रेखामुनि रहेको बताइन् । कायममुकायम गभर्नर ढुङ्गानाले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैङ्गिक हिंसा र महिला सशक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।






