‘पब्लिकको पैसामा चन्द्र ढकाल एण्ड कम्पनीको प्रमोसन गर्छ ग्लोबल आईएमई बैंक’

काठमाडौं। बैंक तथा वित्तीय सँस्थाहरुमा अधिपत्य जमाउँदै आएका विवादित व्यापारी चन्द्र प्रसाद ढकाल हाल नियामक निकाय कब्जा गर्ने योजनामा छन्।

सोहि अनुरुप ढकालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँफू अनुकूलका व्यक्ति नियुक्त गरिसकेका छन् भने अब नेपाल राष्ट्र बैंकको गभर्नर आँफै अनुकूल नियुक्ति गराउन लागिपरेका छन्। राजनितिक रुपमा प्रचण्ड निकट भएका कारण धितोपत्र बोर्ड र बीमा प्राधिकारणमा साँठगाँठ मिलाउन नसकेपछि उनी समस्यामा परेका छन्।

नियामक निकायहरुलाई सँधै आफ्नो कब्जामा राख्दै आएका ढकालले नेपाल धितोपत्र बोर्डमा उद्योग वाणिज्य महासंघका तर्फबाट निर्वाचित विशेषत उपाध्यक्षलाई प्रतिनिधि पठाउनुपर्नेमा उनले आँफू निकट रहेका करारका कर्मचारी गोकर्ण अवस्थीलाई प्रतिनिधि पठाएका छन्।

नेपाल धितोपत्र बोर्डको संचालक रहेका समयमा सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा संलग्न भएको तथ्य बाहिरिएपछि संचालक सदस्यबाट राजिनामा दिएका ढकालले नेप्सेमार्फत् हुने अनलाइन शेयर कारोबार प्रणाली आफ्नो निजी कम्पनी ‘वाइको’ को कब्जामा पारेका थिए । ढकालमाथि वाईको मार्फत् नेप्सेको सिस्टम ह्याक गरी घाटामा गएको चन्द्रागिरी होटल तथा आफ्ना निजी कम्पनीको मूल्य स्वभाविक तथा अप्रकृतिक रुपमा वृद्धि गरि जनतालाई लुटिरहेको आरोप लाग्दै आएको छ। सेबोनमा हुँदा पनि उनले इन्साईडर ट्रेडिङ गरेको तथ्य बाहिरिएर कारबाही हुने थाह पाएपछि उनी त्यहाँबाट निस्किएका थिए ।

ढकालको कम्पनी वाइकोमाथि जुनसुकै समयमा छानबिन हुने र यसको लाइसेन्स खोसिने भएपछि ढकालले मुख्यसचिवको सहयोगमा नारद लुईटेलको नियुक्तिनै रद्द गरी नेप्सेको सीईओमा चुडामणि चापागाईलाई नियुक्त गराएका हुन् ।

नेप्सेले बनाएको कार्यविधिमा उल्लेख भएको मापदण्डमा पनि धितोपत्र बोर्डले प्रश्न गरेको थियो। नेप्सेले बनाएको कार्यविधि कुनै एक समुह वा कम्पनीको एकाधिकार नहुने गरी बनाएको अवस्थामा बोर्डले विनियमावलीमा समावेश गरेर ल्याउन भनेको थियो । सो विनियमावली बोर्डले स्वीकृत गरेपछि ईच्छुक कम्पनीहरुले धितोपत्र दलाल कम्पनीका लागि आवश्यक टिएमएस बनाउन सक्छन् । धितोपत्र दलाल कम्पनीले प्रयोग गर्दै आएको हालको टिएमएस वाइको प्राइभेटले उपलब्ध गराएको सिस्टम हो ।

नेप्सेमा जस्तै गरि नेपाल राष्ट्र बैंकमा पनि ग्लोबल आईएमइ बैंकमा भएका घोटाला र अवैध हुण्डी कारोबार ढाकछोप गर्ने योजना अनुसार आफ्ना मान्छे गभर्नर बनाउन भन्दै नेताका दैलो ढकढक्याउन पुगेका छन् । गभर्नरका लागि उनले अघि सारेका पात्र रविन्द्र पान्डे हुन्। पाण्डे राष्ट्र बैंककै बोर्डमा छन्। तर, बैंक भित्रकै व्यक्ति गभर्नर बन्ने सम्भावना न्यून भएपछि यतिबेला जो आएपनि उसैलाई समर्थन गर्ने भन्दै हिंडेको उनी निकट स्रोत बताउँछ।

त्यस्तै, ढकालले नेपालका विभिन्न इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छन्। उनले नियमविपरित २ वटा रि इन्स्योरेन्समा लगानी गरेका छन्। नियामकको आँखा छल्नका लागि ढकालले नेपाल रि इन्स्योरेन्समा भने आफन्तकाका नाममा लगानी गरेका छन्। राज्यका हरेक नियामक निकायमा आफ्ना व्यक्ति पठाएर कब्जा जमाउने र आफ्ना अनुकूलका काम गराउँदै आएका ढकाल प्रचण्डका अलि नजिक छन् । त्यसैले पनि यस पटक उनले सेबोन र बीमा प्रधिकरणमा आफ्ना मान्छे राख्न नसक्दा आफ्ना गलत क्रियाकलाप बाहिर आउने डरले छ्ट्पटाई रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले ग्लोबल आईएमई बैंकमा भएको सर्वसाधारणको रकम आफ्नो निजि स्वार्थका लागि प्रयोग गरेको गर्दै आएका छन्। ढकालले बैंकमा भएको ग्राहकको लगानीको दुरुपयोग गरी उक्त रकमबाट आफ्ना निजी व्यापार विस्तार गर्दै आएको पाईएको छ। नियमविपरित ग्लोबल आईएमई बैंकको अध्यक्ष समेत रहेका ढकालले पदको दुरुपयोग गरि बैंकको रकमबाट आफ्ना निजि व्यापारी विस्तार तथा आँफुले नेतृत्व गर्दै आएको उद्योग वाणिज्य महासंघका हरेक कार्यक्रमको प्रमोसनमा खर्च गर्दै आएका छन् ।

व्यापारी ढकालले ताप्लेजुङमा स्थानीयको इच्छाविपरित जबरजस्ती केबलकार निर्माण गर्न लागेपछि उत्पन्न विवाद समाधानका लागि गरिएका मिडिया व्यवस्थापन तथा प्रमोसन र खर्च राज्यका हरेक सरोकारवाला निकायका कर्मचारी व्यवस्थापनमा ग्लोबल आईएमइ बैंककै स्रोतबाट खर्च गरेको पाईएको छ।

केहि समय अघि लाजिम्पाटस्थित ‘होटल ले हिमालयन’ मा केबलकार निर्माणका बिषयमा जानकारी दिन आफ्ना अनुकूलका पत्रकार गुपचुप रुपमा डाके। केबरकार निर्माणका पक्षमा ‘माहोल सिर्जना गरिदिनुस्’ भन्दै कक्टेल  पार्टी समेत गरे। केहि समयपछि ग्लोबल आईएमइ बैंकका कर्मचारीहरु प्रयोग गरी पाथिभराका स्थानीय बिरोध गर्दै आफ्ना पक्षमा झन्डै १० पाना जति रामकहानी लेख्न लगाए। केहि समयपछि पाथिभराका स्थानीयलाई गाली गर्दै बैंककै कर्मचारीले ढकाल र केबलकारका पक्षमा तयार पारेको कपोलकल्पित लेख ठूला भनिएका संचारमाध्यममा समेत जस्ताको तस्तै छापियो। जसमा लेखिएको थियो- ‘केवलकारले पहिचानको प्रबर्द्धन गर्छ , नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’

ठूला भनिएका मिडियामा सार्वजनिक भएका यी लेख न त कुनै सार्वजनिक बिषयमा उठेका बिषय थिए न त संचारमाध्यमको आफ्नो उत्पादन तथा सम्पादन हो । यो ग्लोबल आईएमइ बैंकले तलब दिएर बैंकको प्रोमोसनका लागि खटाएका कर्मचारीले व्यापारी चन्द्र ढकालको निजि परियोजनाको प्रमोसन गर्दै तयार पारेको आर्टिफिसियल रिपोर्ट थियो।

यतिमात्र होईन, ढकालले आफ्नो निजी व्यापार विस्तारका लागि गरिएको प्रमोसनको खर्चको बिल समेत बैंकबाट तिराएका छन्। आफ्नै होटलमा आफ्नो निजी व्यापारीक प्रमोसनमा गरेको खर्च समेत पब्लिक लिमिटेड कम्पनी अर्थात् सर्वसाधारणको रकमबाट तिरेर ढकालले सर्वसाधारणको निक्षेपको दुरुपयोग गर्दै आएका छन्।

व्यापारी ढकालले बैंकसँग सम्बन्ध नभएको नेपाल उद्योग वाणिज्य महासंघदेखि आफ्ना निजि कम्पनीका हरेक प्रमोशन ग्लोबल आईएमइ बैंककै खर्चबाट तिराउने गरेका छन्। त्यसमा पनि उनले बैंकका मार्केटिंग विभागका कर्मचारीको दुरुपयोग गरी समाचार लेखाउने र बैंककै रकमबाट फन्डेड मिडिया प्रयोग गरी आँफू र आफ्नो प्रचारप्रसार गराउने गरेका छन्। ढकालले आफ्ना निजी कम्पनीको प्रमोसन बैंककै पैसाबाट गराउने त गर्छन् नै। त्यसमाथि पनि उनका निजी कम्पनी देखि उनी सहभागी हरेक कार्यक्रमका बारेमा चन्द्र ढकालको धारण भन्दै बैंककै कर्मचारीले रेडिमेड समाचार बनाएर बैंकले नै लगानी गरेका मिडियामा जस्ताको तस्तै छाप्न समेत लगाउने गरेका छन् ।

यस बिषयमा नेपाल राष्ट्र बैंक बेखबर भने छैन। पावर र पहुँचका अघि ढकालले गरेका नियमविपरितका कामकारबाहीका सम्बन्धमा परेका उजुरीमाथि समेत राष्ट्र बैंक कानमा तेल हालेर बसिरहेको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *