तीनकुने घटनामा २० जनालाई गोली लागेको प्रहरीको स्वीकारोक्ति, १३ जनाको उपचार जारी

काठमाडाैं । नेपाल प्रहरीले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको पुष्टि गरेको छ । राजावादीको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ५८ राउन्ड गोली चलाएको आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले सो जानकारी दिएका हुन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी आचार्यका अनुसार गोली लागेर घाइते भएका २० जनामध्ये ७ जना डिस्चार्ज भइसकेका छन् । १३ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् ।

आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भयाे । यस्तै, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको उनले बताए ।

प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी ५३ जना घाइते भएको आचार्यले बताए ।

चैत १५ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा राजावादीहरूले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीतर्फ सविन महर्जनको मृत्यु भएको थियो । तीनकुनेनजिकै गोली लागेका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । उनको कुमनजिकै गोली लागेको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै एभिन्युजका भिडियो पत्रकार सुरेश रजक आगलागी भएको घरमा मृत फेला परेका थिए । उनको जलेर मृत्यु भएको पुष्टि भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *