काठमाडौं । शुक्रबार काठमाडौंका दुई ठाउँमा प्रदर्शन हुने भएको छ । नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले बेग्लाबेग्लै प्रदर्शन गर्न लागेका हुन् ।
समाजवादी मोर्चा (गणतन्त्रवादी)ले भृकुटीमण्डप र प्रसाईं नेतृत्वको समूह (राजावादी)ले तीनकुनेमा आन्दोलन गर्ने तय भएको छ ।
दुई वटा प्रदर्शनलाई छुट्टाछुट्टै ठाउँ तोकिएको छ । उनीहरूले विभिन्न ठाउँबाट र्यालीसमेत गर्ने भएकोले बिहानैदेखि उपत्यकाको सवारी आवागमन अस्तव्यस्त हुने सम्भावना छ ।
दुवै प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । ‘भृकुटीमण्डप र तीनकुनेमा हुने प्रदर्शनलाई लक्षित गर्दै ट्राफिक प्रहरीबाहेक दुई हजार ५०० बढी प्रहरी खटाउने योजना तयार छ ।’ उनले भने ।
त्यस्तै, ट्राफिक प्रहरीतर्फ १ हजार ८०० जना आलोपालो तैनाथ हुँदै छन् ।
गणतन्त्रवादीले भृकुटीमण्डपमा ११ बजेदेखि प्रदर्शन गर्दै छन् । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीले विभिन्न ठाउँबाट र्याली सुरू गर्ने तयारी गरेका छन् । बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोह्रखुट्टे, मैतीदेवी, सुन्धारा, न्यूरोडलगायत क्षेत्रमा भेला भएर भृकुटीमण्डपमा र्याली गर्ने गरी कार्यक्रम तालिका सार्वजनिक गरेका छन् ।
त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले तीनकुनेमा १ बजेदेखि कार्यक्रम गर्दैछ । प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्यालीको तयारी गरिरहेका हुन् ।






