काठमाडौं। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधाको नाममा सरकारले जनतामाथि आर्थिक बोझ थोपर्न खोजेको आरोप लगाएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले आम नागरिकहरू पहिल्यै चरम महँगी, अत्यधिक कर, कुशासन र बेरोजगारीको चपेटामा परेको अवस्थामा पूर्वपदाधिकारीहरूलाई आजीवन सुविधा दिने सरकारको योजना निन्दनीय रहेको बताए।
सांसद सिंहले भने, “लोकतान्त्रिक व्यवस्थामा जनता नै सर्वोच्च हुन्छन्। तर यहाँ त शासन गर्ने नेताहरू आफ्नै विलासिताका लागि जनतामाथि ऋणको भारी थोपर्ने धृष्टता गरिरहेका छन्। मुलुकमा रोजगारी छैन, लाखौँ युवा विदेशी भूमिमा मजदुरी गर्न बाध्य छन्। देशको अर्थतन्त्र डगमगाइरहेको छ, तर यता केही पूर्वपदाधिकारीहरूलाई जीवनभर सुविधासहित राज्यको ढुकुटी दोहन गर्ने व्यवस्था गर्न खोजिँदैछ। यो अत्यन्त लज्जास्पद कुरा हो।”
उनले सरकारलाई चुनौती दिँदै प्रश्न गर्दै भनेका छन्,- “पूर्वपदाधिकारीहरूको योगदान के हो? के राष्ट्र निर्माणमा यिनीहरूले कुनै अद्वितीय योगदान दिएका छन्? होइन भने, सुविधा होइन, उनीहरूलाई आजीवन जेलको सजाय दिनुपर्ने हो।”
सांसद सिंहले पूर्वविशिष्ट पदाधिकारीहरू पदमा रहँदा मात्र होइन, पद छाडेपछि पनि राष्ट्रलाई लुट्न खोजेको आरोप लगाए। उनले भने, “जब पदमा थिए, तब देशलाई दोहन गरे। अब पदमा छैनन् भने पनि जनताको करबाट जीवनभर सुविधा लिने खेलमा लागेका छन्। यो नाङ्गो लुट होइन त?”
उनले सरकारलाई चेतावनी दिँदै भनेका छन्,- “जनताले सबै देखिरहेका छन्। अब जनताले चुप लागेर बस्नेछैनन्। पूर्वविशिष्टहरूलाई सुविधासँगै जेल कोच्ने दिन टाढा छैन।”






