नेपालगन्ज। राजसंस्था र हिन्दू राज्यको माग गर्दै आज बर्दियामा मोटरसाइकल र्याली निकालिएको छ। राजा र हिन्दू राज्य पक्षधरले निकालेको र्याली बजार परिक्रमा गरेपछि राधाकृष्ण चोकमा कोण सभा भएको थियो।
सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले अवस्था र व्यवस्था बदल्न जनता अगाडि आउनुपर्ने बताए। डा. राणाले नेपालको धर्म र संस्कृति नेताले १४ अर्वमा बेचेको आरोप लगाउँदै भ्रष्ट नेताको बिदाई गर्न र देशको अमनचयनका लागि राजसंस्था आवश्यक रहेको बताए। उनले धर्म, संस्कृति र परम्परा बचाउन हिन्दू राज्य आवश्यक भएको जिकीर गरे।
राप्रपाका सहायक महामन्त्री एवं आन्दोलन परिचालन समितिका सदस्य ऋषिराज देवकोटाले चैत्रमा सबै हिन्दू र राजसंस्था पक्षधरलाई एकै ठाउँमा उभिएर सशक्त आन्दोलनका आव्हान हुने बताए। उनले त्यसका लागि काठमाडौमा नेताहरु छलफलमा जुटेको बताए।
पछिल्लो समय हिन्दुराज्य र राजसंस्था पक्षधरले देशका विभिन्न शहरमा मोटरसाइकल र्याली, आमसभा गर्दै आईरहेका छन्।






