काठमाडौँ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिपछि पूर्वराजा ज्ञानेन्द्र शाहप्रति देशभर प्रशंसासहितको जनलहर उठिरहेको छ भने गणतन्त्र पक्षधरहरूले अतालिएर आक्रोश व्यक्त गरिरहेका छन्।
उनको अभिव्यक्तिले देशमा एक किसिमको तरंग उत्पन्न भएको छ । उनको वक्तव्यको समर्थन गर्दै देशभर राजसंस्था पुनर्स्थापनाको माग गर्दै बृहत प्रदर्शन भईरहेको छ । तर राजनीतिक दलका नेता भने उनको अभिव्यक्तिपछि देशभर देखिएको माहोलदेखि अतालिएका देखिन्छन् ।
यसैबीच नेकपा(माओवादी केन्द्र)ले तराई मधेस जागरण अभियान नै स्थगित गरेको छ । फागुन १२ देखि पूर्वको झापाबाट सुरु भएको जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’हालका लागि स्थगित गरेको जनाएको छ । आज शबिनार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको जनविरोधी गतिविधि, भ्रष्टाचारको संरक्षणका कारण राजावादी शक्तिहरू सलवलाएको भन्दै संसद् र सडकको मोर्चालाई बलियो बनाउन अभियान स्थगित गरिएको उपमहासचिव मातृका यादवले बताए ।
‘केपी ओलीको जनविरोधी गतिविधिका कारण प्रतिगामी शक्तिहरू सलबलाएका छन् । यो सरकारका कारण देश दुर्घटनामा पर्ने खतरा देखियो । हामी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडकको मोर्चा प्रभावकारी हुन सकेन । प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी बनाउन अभियान स्थगित गरिएको हो’, उनले भने, ‘आगामी अभियानको स्वरूप परिवर्तन हुन्छ । बिचबिचमा ब्रेक गरेर बाँकी अभियान चलाउँछौँ ।’







