काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेको र कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विद्युत् प्राधिकरणलाई राम्रो काम गर्ने व्यक्तिलाई यस्तो दण्ड दिने सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “सार्वजनिक संस्थाहरू घाटामा गइरहेका बेला लोडसेडिङको अन्त्यदेखि निरन्तर विद्युत् आपूर्ति सुधार गर्दै आएको प्राधिकरणका कार्यकारी निर्देशकलाई शून्य अंक दिनु सरकारको नीति र सोचमा गम्भीर प्रश्न खडा गर्छ।”
पाण्डेले भने, “नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा प्राधिकरणले उल्लेखनीय सफलता हासिल गरेको छ। लोडसेडिङ अन्त्य गरेर, आपूर्ति सुधार गर्दै, नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि गरेका कदमहरू प्रशंसा योग्य छन्। यस्ता व्यक्तिको कार्यसम्पादनको मूल्याङ्कन शून्य अंकको रूपमा गर्नुलाई कस्तो अर्थ लगाउने हो?”
उनले कार्यकारी निर्देशक कुलमान घिसिङको बारेमा सदनलाई स्पष्ट जानकारी दिन सरकारसँग माग गरेका छन्।







