राष्ट्र बैंकले खराब कर्जाको सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्‍यायो

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो खराब कर्जालाई मध्यनजर गर्दै कर्मचारीको रकम निक्षेप राख्ने सर्तमा परिवर्तन गरेको छ। अब खराब कर्जा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशतसम्म पुगेका बैंक तथा वित्तीय संस्थाहरूले पनि राष्ट्र बैंकका कर्मचारीको निक्षेप आकर्षित गर्न पाउने भएका छन्।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा दर निरन्तर बढ्दै गएको छ। यस्तो अवस्थामा राष्ट्र बैंकले कर्मचारीहरूको मुद्दती निक्षेप राख्न सक्ने वित्तीय संस्थाहरूको सीमा बढाएको हो। यसअघि ५ प्रतिशतसम्मको खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र यो सुविधा उपलब्ध थियो। तर, अब ८ प्रतिशतसम्म खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरूले पनि राष्ट्र बैंकका कर्मचारीको रकम आकर्षित गर्न पाउनेछन्।

राष्ट्र बैंकले आइतबार आह्वान गरेको लगानीसम्बन्धी सूचनामा नयाँ व्यवस्था समेटिएको छ। करिब ४ अर्ब रुपैयाँको मुद्दती निक्षेपका लागि राष्ट्र बैंकले बोलकबोल प्रक्रिया आह्वान गरेको छ। जसअनुसार वाणिज्य बैंकहरूले ३ अर्ब २० करोड, विकास बैंकहरूले ६० करोड, र वित्त कम्पनीहरूले २० करोड रुपैयाँसम्म निक्षेप लिन सक्नेछन्।

राष्ट्र बैंकको निर्देशनअनुसार, कुल खराब कर्जा ८ प्रतिशतभन्दा बढी हुनु हुँदैन भने नेट एनपीएल ३ प्रतिशतभन्दा कम हुनुपर्नेछ। बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ भने पूँजीकोष अनुपात समेत आवश्यक न्यूनतम मापदण्डभित्र हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *