सिटिजन लाइफद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १५ गते काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल २८.४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने एजेन्डा रहेको छ ।

त्यस्तै, बोनस सेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रमा रहेको चुक्तापूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने, कम्पनीबाट भएको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्चहरु अनुमोदन गर्ने र संशोधित प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको  छ ।

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र सञ्चालकहरुको नियुक्ती गर्ने प्रस्ताव पारित गरिने एजेन्डा समावेश गरिएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही फागुन २८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *