केपी ओलीसँग बोली मिलाउँदै बालेनविरुद्ध उत्रिइन् उपमेयर सुनिता

मेयर साहले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै डंगोलले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

संघीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारबाही गर्ने वा उनको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने बालेनको तरिका ठीक नभएको टिप्पणी डंगोलको छ । मेयर बालेन स्वतन्त्र र उपमेयर सुनिता एमालेबाट निर्वाचित भएका हुन् ।

‘आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरूलाई आरोप लगाउने कुरा उचित होइन भन्ने लाग्छ’, सुनिताले लेखेकी छन्, ‘केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारबाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठीक होइन । आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरूलाई आरोप लगाउने कुरा उचित होइन भन्ने लाग्छ ।’

प्रतिवेदन पनि सार्वजनिक नगर्ने अनि केन्द्रले प्रमुख प्रशासकीय अधिकृत पठाएन भनेर विरोध गर्न नमिल्ने उनको तर्क छ । मेयर सीलाहले बिहीबार प्रधानमन्त्री ओलीलाई कार्यकारी अधिकृत पठाइदिन भनेका थिए ।

उपप्रमुख डंगोलले छानबिन प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृत मात्र नभई अरूले षड्यन्त्र गरेको रहेछ भने त्यसको पनि निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफू अडिग रहेको बताइन् ।

मेयर साहले पुरानो बसपार्कस्थित काठमाण्डू टावरको प्रक्रिया पूरा नगरी गैरकानूनी रुपमा भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न गत १४ पुसमा महानगरका कानूनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

तर, प्रतिवेदन तयार नहुँदै पौडेलले बालेनको टिम छाडे र जिम्मेवारीबाट राजीनामा दिए । त्यसपछि बालेनले फेरि पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारी र महानगरपालिकाकै कानुनी सल्लाहकार महेश नेपाल सदस्य रहेको अर्को समिति बनाए । तर, समितिको प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *