काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन्।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ। सो क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग समालिन नसकेको उल्लेख गर्दै एकदिवसीय र दुई दिवसीय क्रिकेट खेलेमा सुधार हुने बताए।
यी फरम्याटका क्रिकेट खेल्दा ब्याट्सम्यान परिपक्व हुने कप्तान रोहितले विश्वास व्यक्त गरे।
उनले हारका बाबजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गरे। आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बन्डिङ रहेको उनको भनाइ छ।
कप्तान रोहितले ट्वान्टी–२० फरम्याट धेरै खेलेको उल्लेख गर्दै एउटा ब्याट्सम्यान भएपछि ५० ओभरमा पनि राम्रो गर्नुपर्ने धारणा राखे।
रोहितले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताए।






