काठमाडौं । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । सरकारले सर्तसहित एनसेलको लाइसेन्स आइतबार नवीकरण गरेको हो ।
गत साता बिहीबार (१३ भदौ) मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो । त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।
नवीकरण शुल्क तिर्न एनसेललाई ब्याजसहित किस्ताबन्दी सुविधा सरकारले उपलब्ध गराएको थियो । सोहीअनुसार अहिले एनसेलले पहिलो किस्तास्वरूप पाँच अर्ब रुपैयाँ बुझाएपछि लाइसेन्स नवीकरण भएको हो ।
२० अर्ब नवीकरण शुल्कको बाँकी १५ अर्ब रकम अब तीन किस्तामा हरेक वर्ष ५ अर्ब रुपैयाँ गरी एनसेलले १० प्रतिशत ब्याजसहित तिर्नेछ ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलको लाइसेन्स नवीकरण भएको जानकारी दिए ।
एकमुष्ट नवीकरण दस्तुर तिर्न नसक्ने भन्दै एनसेलले यसअघि किस्ताबन्दी सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो ।
एनसेलको लाइसेन्स नवीकरण अवधि भदौ १५ गते सकिएको थियो । यससँगै एनसेलले थप ५ वर्षका लागि लाइसेन्स पाएको हो ।






