समता घरेलु लघुवित्तमा गाभियो मनकामना स्मार्ट लघुवित्त

काठमाडाैं । वित्तीय पहुँच बढाउने र लघु कर्जामार्फत स्वरोजगारी बृद्धि गरी गरीवी घटाउन सघाउ पुर्‍याउने उद्देश्यले बनेपामा केन्द्रीय कार्यालय रहेर स्थापना भएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले भैरहवामा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको छ।

गाभिएपश्चात दुवै संस्थाले आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्था लि. राष्ट्रिय स्तरको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लि. प्रदेश स्तरको लघुवित्त संस्था हो । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई सहयोग पुर्‍याउन दुई संस्थाबीच गत भदौ ७ मा गाभ्ने गाभिने निर्णय भएको थियो । समताले मनकामनालाई १ः१ शेयर स्वाप रेशियोमा गाभेको हो ।

एकीकृत कारोबार पश्चात संस्थाको बनेपामा केन्द्रीय कार्यालय र सात वटै प्रदेशमा ९९ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा उपलब्ध हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकारी दिए । संस्थाको चुक्ता पँुजी जारी हुन लागेको एफपिओसहित ५९ करोड ९० लाख ९० हजार ७ सय २८ रुपैयाँ पुगेको छ । संस्थाले ८१ हजार ५ सय ३६ सदस्यहरुलाई वित्तीय सेवा पुर्‍याएको र ४ अर्ब ३८ करोड ९० लाख कर्जा लगानी तथा १ अर्ब ४० करोड ५१ लाख रुपैयाँ बचत संकलन भएको पनि डा. घिमिरेले बताए ।

दुवै संस्थालाई एकीकृत कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंकबाट २०८१ जेठ २९ गते, नेपाल धितोपत्र बोर्डबाट २०८१ असार ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८१ असार ११ गते अन्तिम स्वीकृति प्राप्त भएको थियो । समता घरेलु लघुवित्त संस्था लि. बिगतमा दुई वटा संस्था गाभिएर बनेको संस्था हो भने मनकामना स्मार्ट लघुवित्त पनि दुई वटा संस्था गाभिएर बनेको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष डम्बरमणि थेबे लिम्बुको अध्यक्षता र काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्यको प्रमुख आतिथ्यतामा भएको एकीकृत कारोबार शुभारम्भ समारोहमा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादव, पूर्व अध्यक्ष बसन्तराज लम्साल, गाभिने संस्था मनकामना स्मार्ट लघुवित्तका अध्यक्ष अजय गोयनका, संयुक्त प्राप्ति समितिका संयोजक हरिबहादुर भण्डारी लगायतले शुभकामना दिएका थिए । समारोहमा दुवै संस्थाका संचालक, शेयरधनी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *