यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिएका छन्।

बिहीबार हज कमिटीमा जानेहरूको बिदाइ गर्न विमानस्थल पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गर्नु भएपछि सो निर्देशन दिएका छन्।

यसैगरी, मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिए। उनले भने, ‘यात्रुहरुलाई झन्झटरहित सेवा दिनूहोला, विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनु त्यसतर्फ ध्यान दिइने छ।’

मन्त्री लामिछानेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गर्नु भएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।

उनले भने, ‘मन्त्रीज्युले विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गर्नु भएको थियो, उहाँ समक्ष हामीले पनि आ-आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थियौं।’

मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युटी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेकाे विमानस्थल कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *