बालमन्दिरको जग्गा प्रकरण : बृहस्पति र राई स्कुलको नाममा विशाल ग्रुपकै रजाइँ

काठमाडौं । नेपाल बाल संगठनको नाममा रहेको बालमन्दिरको २८ रोपनी ५ आना जग्गा हत्याउन एक व्यापारिक घराना विशाल ग्रुप नै योजनाबद्ध रूपमा लागेको पाइएको छ।

बालसंगठनका तत्कालीन पदाधिकारीलाई आर्थिक प्रलोभनमा पारी विशाल ग्रुपले बृहस्पति विद्या सदनमार्फत् २८ रोपनी ५ आना जग्गा विसं २१३२ सम्म आफ्नो स्वामित्वमा ल्याउने प्रपञ्च गरे पनि त्यो सफल नहुने भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी जग्गालाई गैरकानुनी रूपमा सम्झौता गरी अनन्तकालसम्म प्रयोग गर्न दिने र लिने दुवै पक्ष गरी २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी अनुसन्धान थालेको छ। तर, उनीहरू पक्राउ भने पर्न सकेका छैनन्। बाल संगठनको हालको नेतृत्वले पनि पुराना पदाधिकारीले गरेको गैरकानुनी सम्झौता रद्ध गर्ने निर्णय गरिसकेको छ।

विशाल ग्रुपले चलाखी अपनाउँदै बृहस्पति विद्या सदन र राई स्कुलको नाममा बालमन्दिरको जग्गामा रजाइँ गर्दै आइरहेको विभिन्न कागजातबाट सहजै पुष्टि हुन्छ । विशाल ग्रुपले बालमन्दिरको जग्गा हत्याउन बृहस्पति विद्या सदन र राई स्कुललाई अघि सार्दै आएको हो।

अहिले बृहस्पति र राई स्कुलको सेयर लागत हेर्दा विशल ग्रुपकै सदस्यहरूको नाममा बढी सेयर रकम भएको देखिन्छ । शुरूमा बृहस्पति विद्या सदन पुरुषोत्तमराज जोशीले सञ्चालन गरेको भए पनि अहिले उहाँको नाममा सेयर संख्या न्यून छ भने सेयर रकम र संख्यामा विशाल ग्रुपमै रहेकाहरूको वर्चस्व छ। जसअनुसार बृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये प्रत्यक्ष अप्रत्यक्ष गरी अधिकांश विशाल ग्रुपकै रहेको पाइएको छ।

२०६९ वैशाख ३ गतेसम्म बृहस्पतिमा पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्जवलराज जोशी र मिनुकुमारी जोशीसमेत ५ जनाको लगानी थियो। त्यसपछि भने क्रमशः विशाल ग्रुपका अग्रवाल परिवारको लगानी भएको देखिन्छ । अहिले आएर त बहुमतभन्दा बढी सेयर अग्रवाल परिवारकै रहेको पाइएको हो।

स्रोतका अनुसार २०७४ जेठ ७ गतेदेखि बृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघई र ‘ग्रिनफिल्ड इंक प्रालि प्रवेश भएको थियो । अनुज र अर्पित विशाल ग्रुपका निर्देशक हुन् भने ग्रिनफिल्ड नामक कम्पनीका अधिकांश सदस्य विशाल ग्रुपकै सदस्यहरू रहेको पाइन्छ । यसै गरी २०७८ सम्म आउँदा महेशकुमार सिंघानियाँ, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, श्यामसुन्दर कँडेल, सन्दीपा थापा, वसुन्धरा श्रेष्ठ, समीर थापा, सुनील जाकेबञ्जा पनि लगानीकर्ताका रूपमा देखिएका छन् । यीमध्ये विशाल र निकुञ्ज पनि विशाल ग्रुपकै निर्देशकका रूपमा रहेका छन् ।

बृहस्पति विद्या सदनको सेयर लागत विश्लेषण गर्दा ५८ प्रतिशत सेयर विशाल ग्रुपकै हातमा रहेको देखिन्छ। यसमा श्रद्धा संघईको नाममा रहेको १५ प्रतिशत सेयरसमेत जोड्ने हो भने विशाल ग्रुपको कब्जामा ७३ प्रतिशत सेयर रहेको पाइन्छ। बृहस्पतिमा विशाल ग्रुपका अनुजको नाममा ३ करोड ६१ लाख २३ हजार ५ सयको सेयर रकम रहेको छ।

यसै गरी विशाल ग्रुपकै विशाल अग्रवालको नाममा २ करोड ३६ लाख ७५ हजार, निकुञ्ज अग्रवालको नाममा २ करोड ३६ लाख ७५ हजार र अर्पित अग्रवालको नाममा १ करोड १२ लाख १० हजार रुपियाँ सेयर रकम रहेको छ। विशाल ग्रुपकै मातहत रहेको ग्रिनफिल्ड इंक प्रालिको नाममा ५० लाख १७ हजार सेयर रकम रहेको पाइएको छ।

यस कम्पनीमा धेरैजसो विशाल ग्रुपकै सदस्यहरू संलग्न छन् । जसमा अर्पित, विशाल, अनुज, निकुञ्ज, कविता संघई, श्रद्धा संघई र ग्लोबल बायो इनर्जी इन्भेस्टमेन्टको संयुक्त लगानी छ ।

यसै गरी बालमन्दिरमै खोलिएको अर्को राई स्कुलमा पनि विशाल ग्रुपकै सदस्यहरूको बढी लगानी रहेको सेयर लागतबाटै स्पष्ट देखिन्छ। राई स्कुलमा विशाल ग्रुपका निर्देशक तथा सञ्चालक रहेका अनुजको नाममा ५० लाख ३६ हजार २ सय, विशाल अग्रवालको नाममा ३३ लाख ६० हजार ६ सय, अर्पितको नाममा १६ लाख ८७ हजार र श्रद्धा संघाईको नाममा ७५ लाख ५५ हजार १ सय रुपियाँ सेयर रकम रहेको पाइएको छ । यसै गरी श्रद्धा संघईको नाममा ७५ लाख ५५ हजार तथा ग्रिनफिल्ड इंक प्रालिको नाममा १० हजारको सेयर रकम रहेको छ ।

विशाल ग्रुपको पुरानै रोग

हरेक पटक समस्यामा परेपछि विशाल ग्रुपले आफ्नो वेभसाइट डाउन गर्ने गर्छ । पहिला चकलेट, चिप्स रिलेबलिङ गरेर बदमासी गर्दा पनि उनीहरूले वेभसाइट डाउन गरेका थिए । अहिले पनि बृहस्पतिको समस्या आउँदा आफ्नो वेभसाइट डाउन गरेका छन् । यदि, गल्ती गरेका छैनन् भने वेभसाइट किन डाउन गर्नुपर्‍यो ? यो समाचार नेपाल समाचारपत्रले छापेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *