काठमाडौं । काठमाडौंमा आजदेखि सीप मेला सुरू भएको छ । टुँडिखेलमा सञ्चालन गरिएको उक्त मेला काठमाडौं महानगरपालिकाकाे संयाेजनमा आयोजना गरेको हो ।
‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउने उद्देश्यले मेलाकाे आयाेजना गरेकाे सीप मेला आयाेजनाकी संयाेजक बिमला काेइरालाले जानकारी दिइन् ।
मेला १ महिनासम्म चल्नेछ । मेलामा आदेदन दिएका र नाम टिपाएकाहरूले निःशुल्क तालिम लिन पाउनेछन् । तालिम पाएका सबैलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको महानगरले जनाएकाे छ ।
सीप मेलामा अहिले तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना महानगरको छ ।
महानगरसँग सहकार्य गर्ने विभिन्न संस्थाहरूले टुँडिखेलमा स्टल राखेर सीप मेलामा सहभागिता जनाएका छन् ।






