नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनायो । आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले ।

त्यसअघि ओपनर जेम्स मकलम ९ रन जोडेर विकास आग्रीको बलमा विकेटकिपरबाट समातिएका थिए । दोस्रो विकेटका लागि पिटर मुर र डोहनीले ६६ रनको साझेदारी गरे । मुरले २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको विष्फोटक इनिङ खेले । उनी साहब आलमको बलमा बाउन्ड्रीनजिक समातिए ।

केड कार्माइकल १३ बलमा ८ रन जोड्दै रंजित कुमारको बलमा बोल्ड भए । मोर्गन टपीङ ३६ बलमा २ चौकासहित २१ रन जोड्दै रिजनको एलबीडब्लु धरापमा परे । कप्तान निल रक मात्र १ रन जोड्दै रिजनकै बलमा आउट भए ।

तल्लोक्रममा ग्याभिन होएले १० बलमा १४ रन जोडे । फिओन ह्यान्डले २१ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए । म्याथ्यु हम्फ्रिजले अन्तिम बलमा रनआउट हुनुअघि ३४ बलमा २३ रन जोडे । बेन ह्वाइट १९ रनमा नटआउट रहे । उनले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

नेपाल ए का लागि रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए । विकास आग्री र साहब आलमले १-१ विकेट लिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *