आज ५६ जिल्लामा होलीको सार्वजनिक विदा

काठमाडौं । आज होली पर्व। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदैछ।

होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ।

तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भने सोमबार मात्रै होली पर्व मनाइन्छ।

होलीमा काठमाडौंको वसन्तपुरमा विशेष मेला लाग्ने गरेको छ। वसन्तपुरमा गठ्याइएको चीरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी लगाउने प्रचलन छ। चीरमा राखिएका ध्वजापताका औषधोपचारका लागि काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भन्ने विश्वासका साथ खरानीको टीका लगाउने चलन रहेको छ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरू भएको थियो।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ।

होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ। काठमाडौंमा प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ। आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ।

होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभावी रङ नछ्याप्न प्रहरीको आग्रह छ। सभ्य तरिकाले होली खेल्न प्रहरीले आव्हान गरेको छ। तराईमा भने पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट मात्रै होली मनाउने चलन छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *