काठमाडौं । चैत ५ गते मंगलबारबाट ‘ग्लोबल मनी विक – २०२४’ भएको छ । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँ संस्करण हो ।
उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न सात वटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन्।
यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन्। जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् ।

यस्तै, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवर्द्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
के हो ग्लोबल मनी वीक ?
ग्लोबल मनी वीक ‘अर्गनाइजेसन अफ इकोनोमी को ओपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)को को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । ग्लोबल मनी वीक युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो । यो सप्ताह ओइसीडीको संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिन्छ ।
ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ रहेको छ । यस साप्ताहिक कार्यक्रममार्फत युवाहरुमा वित्तीय शिक्षाको प्रबर्द्धन गर्दै वित्तीय शिक्षा अभिवृद्धि गरी वित्तीय समावेशिता प्रबर्द्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

युवाहरुलाई वित्तिय साक्षरताको आधारमा र वित्तिय जागरणको आधारमा संलग्न गराइ पैसा कसरी कमाउने ? कसरी त्यसलाई सदुपयोग गर्ने ? सेभिङमा कसरी कन्भर्ट गर्ने ? सेभिङबाट कसरी त्यसलाई लगानीमा लैजाने ? त्यसबाट उनीहरुले आफ्नो भविष्यलाई सुरक्षित राख्न सक्छ भन्ने अवधारणासहित उक्त कार्यक्रमको आरम्भ गरिएको हो ।
राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओइसीडीले जनाएको छ ।
वित्तीय समावेशीकरण हासिल गर्न सकिने
वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरतालाई प्रभावकारी तुल्याउनु आजको आवश्यकता रहेको विज्ञहरू बताउँछन् । ‘ग्लोबल मनी विक – २०२४’ उद्घाटन गर्दै गभर्नर महाप्रसाद अधिकारीले साक्षरताको प्रवर्द्धनबाट मात्रै वित्तीय समावेशीकरण हासिल गर्न सकिने बताए । राज्यका सबै तहका व्यक्तिसम्म वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न नसकिने उनको भनाइ थियो ।

ग्लोबल मनी विकको साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनले सबैसरोकारवाला निकायलाई आग्रह गरे । सानै उमेरदेखि नै बचतको अभ्यासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले आफ्नो सुरक्षित वित्तीय भविष्यको निम्ति जागरुक रहन विद्यार्थीहरूलाई आग्रह गरे ।







