नेपालको ऋण २३ खर्ब ८८ अर्ब पुग्यो, आठ महिनामै थपियो सवा २ खर्ब

काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा नेपालको तिर्न बाँकी ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको हो ।

असार मसान्तमा नेपालको सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको थियो । सरकारले यो अवधिसम्म २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ ऋण थपेको छ ।

यस अवधिमा साँवा भुक्तानीमार्फत १ खर्ब २६ अर्ब ३ करोड रुपैयाँ तिरेको छ ।

तथ्यांक अनुसार आन्तरिक ऋण ११ खर्ब ८५ अर्ब र वाह्य ऋण १२ खर्ब २ अर्ब पुगेको छ । गत असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २५ अर्ब र वाह्य ऋण ११ खर्ब ७० अर्ब थियो ।

फागुन मसान्तसम्म सरकारले सार्वजनिक ऋणको ब्याज भुक्तानीमा मात्र ४९ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । यस वर्ष आठ महिनामा आन्तरिक ऋणको ब्याज भुक्तानीमा ४३ अर्ब ६७ करोड खर्च भएको छ ।

वाह्य ऋणको ब्याज भुक्तानीमा ५ अर्ब ७९ करोड रुपैयाँ खर्च भएको छ । आठ महिनामा साँवा र ब्याज भुक्तानीमा मात्र १ खर्ब ७५ अर्ब ४९ करोड खर्च भएको कार्यालयको तथ्यांकमा छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *