काठमाडौं। राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ। बिहान ११:०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ।
निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उमेदवारी दर्ता भएको थियो। सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन्। नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ। कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका छन्।
यसैबीच, राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन्। एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन्। एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन्। सत्तासाझेदार अर्को दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन। राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन्।
राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन्। लोसपाका एक, राष्ट्रिय जनमोर्चा काएक सदस्य छन्। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन्। गौतमले कता भोट हाल्छन्, खुलाएका छैनन्।
हिसाबअनुसार, ३९ सांसद भएको सत्ता गठबन्धनले राष्ट्रियसभा अध्यक्षको चुनाव जित्दै छ। गठबन्धनबाट उमेदवार बनेका दाहाल राष्ट्रियसभा अध्यक्ष बन्दै छन्। दाहाल नातामा प्रधानमन्त्री प्रचण्डका भाइ हुन्। आज बिहान ११ बजेसम्म कुनै राजनीतिक उथलपुथल नभए दाहाल सहजै अध्यक्ष बन्नेछन्।






