सत्ता समिकरण फेरबदल : टिकेन लगानीकर्ताको उत्साह, सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । सत्ता समीकरणको फेरबदल भएसँगै सोमबार सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजारमा मंगलबार भारी अंकको गिरावट आएको छ । आज साताको तेस्रो दिन नेप्से परिसूचक आज ७०.३१ अंकले घटेको छ। योसँगै नेप्से २००७.६९ को विन्दुमा बन्द भएको छ। सत्ता समिकरण फेरबदल भएसँगै सोमबार ११७.७० अंक अर्थात ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।

सोमबार बजार जसरी उचालिएको थियो आजै उसैगरी तल झरेको छ । बजारमा सेलिङ प्रेसर निकै देखिएको छ । पछिल्लो सट्टा समीकरणले सेयर बजार बढ्नेमा लगानीकर्ताहरू ढुक्क देखिएका थिए । तर लगानीकर्ताहरूको खुशी एक दिन मै नैराश्यतामा परिणत भएको छ ।

सोमबार सत्ता समिकरण फेरिएर कम्युनिष्टको सरकार बन्ने र अर्थमन्त्री विष्णु पौडेल भन्ने हल्ला र आशंकाले नै बजार उचालिएको थियो । त्यसको असर भने मंगलबार परेको छ । विष्णु पौडेल लगानीकर्ताले रुचाएका पात्रमा पर्छन् । उनले मन्त्रालय सम्हाल्दा नेप्सेले नयाँ रेकर्ड राखेका हिस्साहरू छन् । त्यसैले लगानीकर्ता पौडेल अर्थमन्त्री भएको हेर्न चाहन्छन् । तर अर्थमन्त्रीमा विष्णु पौडेल बन्ने को वर्षमान पुन बन्ने भन्ने विषयको टुंगो लागेको छैन । यसअर्थ पनि बजारमा सेलिङ प्रेसर देखिएको छ ।

त्यसैले आज बजार घटेपनि कारोबार रकम भने बढेको देखिन्छ । ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ९१ लाख २२ हजार ७३५ रुपैयाँको सेयर किनबेच भएको छ ।

सर्वाधिक कारोबार शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ। बजार घट्दा ३३ कम्पनीको सेयरभाउमात्रै बढेको छ भने २१३ कम्पनीको सेयरभाउ घटेको छ । यो दिन २ वटा कम्पनीको सेरभाउ स्थिर रहेको छ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाइधनीले ७ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । आज अधिकांश म्युचुअल फण्डका इकाईधनीले कमाएका छन् ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज सोनापुर मिनरल्‍स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

शिवम सिमेन्ट २४ करोड ६५ लाख रुपैयाँ,घोराही सिमेन्ट १४ करोड ३१ लाख रुपैयाँ,जोशी हाइड्रोपावर १३ करोड १९ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स १२ करोड ८१ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ९ करोड ३५ लाख रुपैयाँ,ङादी ग्रुप पावर ८ करोड ७३ लाख रुपैयाँ,हिमालयन डिस्टिलरी ८ करोड २६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ७ करोड ६९ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट ६ करोड ३८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *