काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । यसअघि बिहीबार बाँडफाँट हुने भनिएको आईपीओ कम्पनीको अनुरोधमा एक दिन पछि सारी शुक्रबार हुने भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्ने यसको प्रि-अलोटमेन्ट आइतबार सम्पन्न भएको थियो । यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ ।
सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो ।







