बैंक माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको माग बढ्दैन : गभर्नर अधिकारी

काठामाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिएका हुन् ।

‘बैंक वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम भइरहेको छ,’ उनले भने, ‘बैंकका कर्मचारीलाई कालोमोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै हातपात गर्ने समूहलाई तत्काल सरकारले कानुनी कारबाही गर्न आवश्यक देखिन्छ ।’

राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी वित्तीय प्रणालीप्रति आक्रमण भइरहेको पनि उनले बताए । ‘कतै-कतै बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जान्छ भन्ने सोच पनि देखिन्छ,’ उनले थपे, ‘अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि केन्द्रित भएको देखिन्छ । सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानुनको परिधिभित्र ल्याउन सकेको अवस्थामा कर्जा माग बढ्ने र त्यसले अर्थतन्त्र चलायमान हुने दाबी गरे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *