सांसद तोसिमाको प्रश्न: स्वास्थ्य उपचारमा लुगा बेचेजस्तो मोलमोलाइ गर्न मिल्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य उपचारमा लुगा बेचेजस्तो मोलमोलाइ भएको टिप्पणी गरेकी छिन् । संसद बैठकमा उनले अस्पतालहरूले परीक्षणको शुल्क जथाभावी लिने गरेको बताइन् ।

कार्कीले भनिन्, ‘५ सयदेखि २५ सयसम्म शुल्क एउटै टेस्टको हुन्छ । पैसा हुनेले सहज उपचार पाउने । उपचार पाउन पनि लुगा बेचेजस्तो मोलमोलाइ गर्न मिल्छ ? छटपटाइरहेको बिरामीले कहाँ सस्तोमा उपचार पाइन्छ भनेर हिँड्नपर्ने ?’

अन्य उपभोग्य बस्तुको शुल्क तोकिएको तर स्वास्थ्य सेवाको परीक्षण शुल्क नतोकिएको उनको भनाइ छ । ‘तराकारीदेखि तेलसम्म नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकेको छ । तर बिरामीको उपचार जस्तो अति संवेदनशील विषयमा राज्यले शुल्क तोकेको छैन । कुन उपचार कुन परीक्षणको कति शुल्क लाग्छ ? न शुल्क तोकेको छ, न नियमन गरेको छ । प्रयोगशालाले आफूखुसी शुल्क तोकेको हुन्छ,’ उनले भनिन् ।

निजीमा मात्र होइन सरकारी अस्पतालमा समेत परीक्षण शुल्कमा एकरूपता नरहेको उनले बताइन् । स्वास्थ्य सेवा परीक्षणको शुल्क निर्धारण गर्न सांसद कार्कीले माग गरिन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *