काठमाडौं । नेपाली नागरिकहरुले अब भारतमा सहज रूपमा भारतीय सिमकार्ड लिन पाउने भएका छन । भारतको सञ्चार मन्त्रालय अन्तर्गतको दूरसञ्चार विभागले नेपाल र भुटानका नागरिकहरूका लागि सिमकार्डको केवाईसी इन्स्ट्रक्सन संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतमा नेपालीहरूले सिमकार्ड लिन सास्ती भोग्नुपरेको भन्दै यसको अन्त्यका लागि औपचारिक अनुरोध गरेपछि केही हप्तामै भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले यस्तो कदम चालेको बताएका छन् ।
यो सँगै अब नेपालबाट सिधै भारतमा जाने नेपालीहरूले आफ्नो राहदानी, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिम लिन सक्नेछन् । यद्यपि नेपालबाहेक अन्य स्थानबाट भारतमा प्रवेश गर्दा वैध भिसा र टिकटसहितको राहदानी अनिवार्य देखाउनु पर्नेछ ।







