सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२४ सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२४ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एमडीआरटी २०२४ का लागि मनोनीत सम्पूर्ण एमडीआरटीहरू सम्मानित भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनीका उच्च पदाधिकारीहरू, प्रदेश प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरूका साथै कम्पनीका ब्रान्ड एम्बास्डर राजेश हमालको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरूको संख्या वृद्धि गर्न हौसला दिँदै आजैदेखि आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरे । उनले भने, ‘अथक मिहिनेत, लगन र प्रयासस्वरुप एमडीआरटी क्वालिफायर बन्न सफल सबैलाई हार्दिक बधाई छ । हाल विद्यमान देशको अवस्था र चुनौतीका बाबजुद पनि उत्कृष्ट व्यवसाय गरी एमडीआरटी बन्न सफल सबैप्रति कृतज्ञ छु ।’

कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आगामी वर्षमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको विश्वभरका अभिकर्ताहरूको भेलामा आफूलाई नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झण्डा फहराउन उत्साहित गर्दै थप ऊर्जा प्रदान गरे ।

साथै, कम्पनीका ब्रान्ड एम्बास्डर राजेश हमालले आफू सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग विगत लामो समयदेखि हातेमालो गर्दै सँगै अगाडि बढ्न पाएकोमा गौरवान्वित भएको बताए । उनले भने, ‘अथक मिहिनेत र प्रतिबद्धताले नै अभिकर्ताहरूले यो नतिजा हासिल गर्न सफल हुनुभएको हो । म कलाकारको रूपमा विभिन्न डिजिटल तथा फिल्मबाट मात्र नभई अभिकर्ताहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा एकदमै हर्षित छु ।’

सूर्यज्योति लाइफ इन्स्योरेन्स नेपालको एक मात्र तथा पहिलो आईएसओ ९००१ः२०१५ प्राप्त बीमा कम्पनी हो । यस कम्पनीको हाल चुक्ता पुँजी ४५४ करोड, कुल लगानी ३,७४५ करोड, जीवन बीमा कोष ३,०५२ करोड, आर्थिक वर्ष २०८०/०८१ पुस मसान्तसम्मको खुद मुनाफा २३.६६ करोड रहेको छ । यस कम्रपनीले देशभर १७६ शाखा कार्यालयहरूबाट आफ्ना बीमित तथा सेवाग्राहीहरूलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *