काठमाडौं । काठमाडौंका नाम चलेका तारे होटलले म्याद गुज्रेका समान बेच्नेको पाइएपछि जरिवाना तिराइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा काठमाडौंका द्वारिकाज, बसेरा र हिमालयन होटल (लाजिम्पाट)मा म्याद गुज्रेका सामान फेला परेको हो।
किचन र स्टोरमा म्याद गुज्रिएका सामान फेला परेपछि कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्द पोखरेलले जानकारी दिए।
बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बुधबार अनुगमन गरिएकोमा पीठो, कोकोनट क्रिमलगायत सामान म्याद गुज्रिएको पाइएको थियो।
लाजिम्पाटस्थित हिमालय होटलमा दूध, दही, पाउरोटी, पीठोलगायत सामान बासी पाइएको थियो। सिंहदरबार गेटैमा रहेको बसेरा होटलमा जुस र पाउरोटीसहितका सामान म्याद गुज्रेको पाइएको छ।
बसेरामा पाउरोटी, जुसलगायत २ हजार २ सय ८० रुपैयाँ मूल्यका यस्ता सामान म्या गुज्रेजको भेटिएको थियो।
त्यस्तै होटल द्वारिकाजमा पीठो, कोकाकोलालगायतका ११ हजार बढी मूल्यका म्याद गुज्रेका सामान फेला परेको विभागको भनाइ छ।
सूचना अधिकारी पोखरेलका अनुसार तीनै होटललाई ३/३ लाख जरिवाना गरिएको छ। बत्तिसपुतलीको द्वारिकाज होटलमा विदेशी भीआईपी बस्ने गरेका थिए।
सिंहदरबारको दक्षिण ढोकामा रहेको बसेरा होटलबाट सिंहदरबारभित्रका मन्त्रालयमा खाजा जाने गरेको छ।







