शिवम् सिमेन्ट्सको बिक्री आम्दानी बढ्यो

काठमाडाैं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको थियो।

बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६७.६७ प्रतिशत घटेर १४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको बिक्री लागत तथा अन्य खर्च बढेको र अन्य आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ९८ पैसा घटेर ५ रुपैयाँ ९१ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८८.८३ गुणा रहेको छ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *