काठमाडौं । नेपाली कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयहरूको नेतृत्व नियुक्ति राजनीतिक भागबण्डाको आधारमा गर्न नहुने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले सरकारले कुनै पनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरूको नेतृत्वको नियुक्ति गर्नुपर्ने बताए। उनले विद्यालयमा बालबालिकाहरूले सक्ने वातावरण निर्माण गर्ने काममा पनि सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।
‘सरकारले मौका पाएको बेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयको नेतृत्वहरु भागबन्डा नगरिकन विश्वविद्यालयको नेतृत्वको नियुक्ति गर्दाखेरी नै कुनै पनि नागरिकले टिप्पणी गर्न नसक्ने गरी बनाउने मौकाबाट चुक्यो भने हाम्रा कुरा कुरा मात्रै हुन्छन्,’ उनले भने ।







