चिलीकाे डढेलोमा परी कम्तीमा ५१ जनाको मृत्यु

काठमाडौं । चिलीमा लागेको डढेलोका कारण आइतबारसम्म कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने घरहरू जलेर नष्ट भएका छन्।

सुख्खा मौसम र तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट)सम्म पुगेपछि देशको मध्य र दक्षिणी भागमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

शनिबार अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउने मार्ग प्रशस्त गर्दै तत्काल ‘विपत्तिका कारण आपतकालीन अवस्था’ को घोषणा गरेका छन्।

चिलीको मध्य तटीय क्षेत्रमा पर्ने भाल्पाराइसो पर्यटकीय क्षेत्रको भिना डेल मार सहरमा बाक्लो खैरो धुवाँको कारण त्यहाँका बासिन्दाले श्वासप्रश्वासमा कठिनाइको महशुस गरेपछि शहरबाट सुरक्षित स्थलतर्फ भाग्न बाध्य भएका छन्।

एल निनो मौसमी घटनाका कारण दक्षिण अमेरिकाको दक्षिणी भागलाई प्रभावित गर्ने ग्रीष्मकालीन गर्मी र खडेरीका कारण डढेलो लागेको हो। वैज्ञानिकहरूले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि आग्रह गरेका छन्।

चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *