गोदावरी । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ। धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ।
प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ। लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम एक करोड ५३ लाख ४९ हजार ३६५ रहेको छ। वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १८० ग्राहकले महसुल बुझाएका छन्।
एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए। धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ। ती सात कार्यालयले ६ लाख दुई हजार ६०७ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ।
लाइन काटिएका सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए। धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन्।
वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ। विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ।
लाइन काटेको ६ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको छ।







