नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले पार्टीभित्र निर्वाचनमा गठबन्धन गरेर जाने वा नजाने भन्ने विचारलाई संश्लेषण गरेर एकमतले निर्णय गरिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “नेपाली कांग्रेसमा गठबन्धन गरेर जानुपर्छ भन्ने र एक्लै लड्नुपर्छ भन्ने दुइटा धार या विचार छन् । पार्टीले संस्थागत निर्णय नगरेसम्म दुइटा धार या विचार हुनु स्वाभाविक हो । यसले ठीक कुरा निकाल्न सहयोग हुन्छ । पार्टीले एउटा विचार बनाएपछि हामी त्यसलाई मानेर जान्छौं ।”
उनले जनतामा नेपाली कांग्रेसप्रति आकर्षण बढेको पनि बताए । उनले भने, “नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो पार्टी हो । आम कार्यकर्ता र जनतामा उत्साह र आकर्षण कांग्रेसप्रति छ । हामीले आफ्नो कुरा जनतालाई बुझाउन सक्ने हो भने जित सुनिश्चित छ ।”
शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री हुनुभयो, तपाईं पनि पटक पटक मन्त्री हुनुभयो, सुदूरपश्चिम प्रदेशमा विकास त गफ मात्र भयो नि पत्रकार धमलाको प्रश्नमा कांग्रेस नेता लेखकले भने, “सुदूरपश्चिममा सबै काम भइसके, गजब भएको छ म भन्दिनँ, तर केही पनि भएको छैन भन्ने कुरा सत्य होइन ।
कमीकमजोरी भएका छन् । खासगरी पछिल्लो चार वर्षमा नेकपा र केपी ओलीको सरकार बनेपछि पुराना पनि रोकिए, नयाँ अघि बढेनन् । अब हामी सुशासनसहित आर्थिक समुन्नतिको बाटोमा अघि बढ्छौं ।”







