काठमाडौं । अछामको ढकारी गाउँपालिकामा एम्बुलेन्स छैन। बाटोघाटो, विजुलीबत्ती, खानेपानीसँगै ढकारी गाउँपालिकाले एम्बुलेन्सको समस्या पनि खेप्दै आएको छ। केही दिन पहिले एम्बुलेन्स नहुँदा महिलाहरूले एक जना गर्भवतीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा छाएको थियो।
त्यसपछि स्थानीय युवाहरूको मन चसक्क भयो। उनीहरूले पालिकामा एम्बुलेन्स खरिद गर्ने योजना बनाए। र, यतिबेला आर्थिक संकलनमा जुटेका छन्।
जनताको स्वास्थ्यप्रति सरकार गम्भीर बन्नु पर्ने हो। अहिले त झनै तीन तहका सरकार छन्। कुनै पनि सरकारको नजर आफ्नो पालिकासम्म पुग्न नसकेपछि पालिकामा एम्बुलेन्स ल्याउन स्थानीय युवाहरू नै सक्रिय बनेका छन्।
स्थानीय दिनेश बहादुर विकले एम्बुलेन्स खरिदका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। ढकारी गाउँपालिका-६ ढुंगेचाल्लाका विकले माघ ४ गतेबाट एम्बुलेन्स खरिदका लागि अभियान थालिएको बताए। उनले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिइसकेपछि तीन दिनकै बीचमा १२ लाख सहयोग घोषणा भएको बताए।
‘मैले २० हजार रकम सहयोग घोषणा गर्दै उक्त अभियानबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएको थिए। त्यसको छोटो समयमा नै हामीलाई १२ लाख सहयोग घोषणा भइसकेको छ। कमलबजार नगरपालिका-५ कुइकाका बुदे टमट्टाले ११ लाख सहयोग घोषणा गर्नु भएको छ। हाल कैलालीको टीकापुर बसोबास भए पनि उहाँले आफ्नो पालिकाका लागि सहयोग गर्न खोज्नु भएको हो,’ उनले भने।

उपचार अभावमा आफूले धेरै गाउँले र आफन्तले अकालमा ज्यान गुमाउनु परेको कहाँ लाग्दो दृश्य देखेको विक बताउँछन्। ‘उपचार अभावको पीडा मैले भोगेको छु। एम्बुलेन्स नहुँदा गाउँलेले पाएका पीडाले बेला-बेला मन भत्भति पोल्ने गर्छ। गर्भवतीलाई स्ट्रेचरमा अस्पताल लैजानु पर्ने अवस्था छ। कतिपयले बाटोमै बच्चालाई जन्म दिएको घटना पनि हामीले देखेका छौं,’ उनी भन्छन्।
उनले केही वर्ष पहिले आफ्नो बुबा बिरामी हुँदा निकै गाह्रो भएको स्मरण गरे। बुबा बिरामी हुँदा आफूहरूले भोग्नु परेको पीडा जस्तै अन्य गाउँलेहरूले पनि भोग्दै आउनु परेको उनले बताए। अब त्यस्तो पीडा कसैले भोग्न नपरोस् भन्ने उद्देश्यका साथ एम्बुलेन्स खरिद गरिने विकको भनाइ छ।
‘तीनै तहका सरकार छन्। उहाँहरूबाट हामीलाई अब आसा छैन। पालिकासँग भएको एउटा एम्बुलेन्स पनि मर्मत गरिएको छैन। नेताहरूले जनताका लागि राजनीति गर्ने हो। तर, उहाँहरू हाम्रो समस्याप्रति गम्भीर नभएको अवस्थामा युवाहरू पनि मूकदर्शक बनेर बस्नु हुँदैन,’ उनले भने।
सबैबाट प्राप्त सुझाव र सहयोगले आफ्नो अभियान चाडै सार्थक मोड्मा पुग्ने उनको भनाइ छ। उनले देश विदेशमा रहेका साथीभाइहरूबाट सहयोग पाउने आशा व्यक्त गरेका छन्।
‘एक महिनाभित्र नै हामीले एम्बुलेन्स हस्तान्तरणका लागि सोच बनाएका छौं। तर, राजश्व छुट भएर आउने भएकाले स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया थाल्दा केही समय लाग्छ पनि सक्छ,’ उनले भने।
उनले खरिद गरिएको एम्बुलेन्स ढकारी गाउँपालिकाको वडा नम्बर ६ को स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने बताए।







