काठमाडौं । लागू पदार्थ, चुरोट जस्ता नसालु पदार्थले असर गर्ने नै नसामा हो। यसले नसाहरूलाई कजोर पारिदिन्छ। सुरुवाति चरणमा रक्सी सेवन गर्दा मानिस स्लो हुँदै जान्छ। विस्तारै मानिसमा रिषासुपन बढ्दै जान्छ। नियमित नसालु पदार्थको सेवन गर्दा शरीरका विभिन्न अंगमा असर पुग्छ। हात काम्न थाल्छ। स्मरणशक्ति कमजोर हुँदै जान्छ। भूल्ने बानिको विकास हुँदै जान्छ। नसालु पदार्थको सेवन गर्ने मानिसले राम्रोसँग आफ्नो काम गर्न सक्दैन।
कोही पेन्टर छ र उसले नियमित नसालु पदार्थको सेवन गर्छ भने उसले राम्रोसँग पेन्टिङ गर्न सक्दैन। सर्जनले राम्रोसँग सरजरी गर्न सक्दैन। अल्को हल र नसालु पदार्थको सेवनले मान्छेलाई बरवाद गरिदिन्छ। नियमित नसालु पदार्थको सेवनले मानिस डिप्रेसनमा जाने हुन्छ। साइकोसिवदेखि एग्रेसिप हुनेसम्म हुन्छ। अधिक नसालु पदार्थको सेवनले मानिस डिप्रेसनमा पुरेर सुसाइडकै अवस्थामा पुग्छ।
नसालु पदार्थको सेवन नियमित रूपमा गर्दा शरीरले माग्दै जान्छ। र, त्यो एडिकको रूपमा विकास हुन्छ। यसले स्वास्थ्य र पैसा दुवैको सत्यनास गर्छ। नियमित नसालु पदार्थको सेवनले एफोरिया हुन्छ। एफोरिया हुँदा मानिस संसारमा हरेक चिज कि राम्रो देख्छ, कि नराम्रो देख्छ। धेरैले राम्रो देख्छन्। नसालु पदार्थ सेवन गरेको समयमा मानिस एफोरियाकै कारण रमाउँछ। उसलाई याद हुँदैन। नाच्ने, गाउँने, रमाउने गर्छ। केही मानिसले अपराध गर्छन्। त्यो भनेको नसाको नकरात्मक पाटो हो।
नसामा फसेका मानिसलाई सहज रूपमा छुटाउन सकिँदैन। नसाको लतमा मानिस एक पटक परेपछि छुटाउन गाह्रो छ। बयस्क मानिस भएमा आफैँले बुझेर कुलतलाई कम गर्दै लैजानु नै राम्रो हुन्छ। विस्तारै नसालु पदार्थको सेवन कम गर्दै लैजान्छु भनेर अठोट गरेमात्र कम गर्न सकिने हो। लागू पदार्थ प्रयोगकर्ता युवाहरू बढी रहेका छन्। उनीहरूको दिमागले धेरै कुरा सोच्न सक्दैन। त्यसैले उनीहरूलाई परिवारको माया एकदमै आवश्यक हुन्छ। परिवारले आफ्नो बच्चाहरू कहाँ जान्छन्, के गरिरहेका छन् भन्ने कुरामा एकदमै ख्याल गर्नुपर्छ। १३/१४ वर्षदेखि २०/२२ वर्षसम्म अभिभावकले आफ्नो बच्चालाई राम्रोसँग गाइड गर्नुपर्छ। राम्रोसँग गाइड गर्दा उनीहरूले नराम्रो बाटो अंगाल्ने जोखिम कम हुन्छ।
नसा हाम्रो शरीरको हरेक भागमा पुगेको हुन्छ। रौमा पनि नसा पुगेको हुन्छ। रौ तान्दा हामीलाई ‘सेन्स’ महशुस हुन्छ। त्यसको कनेक्सन पनि दिमागसँग छ। त्यसैले मेरो कपाल तानियो भनेर दिमागले थाहा पाउँछ। खुट्टाको नङदेखि शरीरका सबै अंकमा नसा हुन्छ। हामीले स्वास फेर्छौ। मुटुहरूको चाल छ। शरीरका सबै कार्यलाई नसाले नै कन्ट्रोल गरेको हुन्छ। मानव शरीरलाई एउटा ठूलो वृक्षको रूपमा लिनुपर्छ। एउटा वृक्ष हुन्छ। त्यसको हाँगाहरू हुन्छन्। नसा पनि त्यस्तै हो। मेन ब्रेन र त्यसको स्पाइनल कोर्ड हुन्छ। त्यहाँबाट यस्तै हाँका निस्केको हुन्छ। जुन हाम्रो शरीरको प्रत्येक भागमा पुगेको हुन्छ। यो देखिँदैन। निकै सुक्ष्म हुन्छ। हामीले साना न्यूरोनहरूलाई देख्दैनौं। हामीले देख्ने भनेको त ठूला नसालाई मात्र हो।
साधारण चोट, साधारण रोग र साधारण कमिकमजोरीले गर्दा मानिसलाई जीवनभरको अपाहिज बनाउनेदेखि कोमासम्म पुर्याउने अवस्थामा नसासम्बन्धिको समस्याले लैजान सक्छ। त्यसैले नसाको हेरविचार निकै महत्त्वपूर्ण छ। स्वस्थ रहनाका लागि स्वच्छकर खानेकुरा खाने गर्नुपर्छ। कुलतको सेवन गर्नु हुँदैन। चुरोट र रक्सी खानु हु्ँदैन। कोही मानिस ३० वर्षको छ र १०/१५ वर्षदेखि नियमित चुरोट, रक्सी सेवन गरिरहेको छ भने उसको दिमागको स्क्यान गरेर हेर्दा ७०/८० वर्षको मानिसको जस्तो भइसकेको हुन्छ। सुकिसकेको हुन्छ। अरु नसाहरू पनि कमजोर भएर जान्छन्। स्वस्थ आहार र व्यवहार मानव जीवनका लागि अति नै महत्त्वपूर्ण कुरा हुन्।
(राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख, वरिष्ठ स्नायुरोग विशेषज्ञ प्रा. डा. राजीव झासँगको कुराकानीमा आधारित)







