नेपाल एकीकरणको इतिहास ‘दफन’ भएको दहचोक[भिडियो कथा]

काठमाडौं । काजी कालु पाँडेलाई नचिन्ने सायद कमै होलान् । स-साना कित्तामा विभाजित २२से २४ से राज्यलाई एकीकरण गर्दै नयाँ नेपाल निर्माणका लागि उनले खेलेको भूमिका अतुलनीय र चिर स्मरणीय छ । श्री ५ पृथ्वीनारायण शाहदेवका सेनाप्रमुख तथा विश्वास पात्रको रुपमा रहेर कालु पाँडेले नयाँ नेपाल निर्माणका लागि ठूलो भूमिका निर्वाह गरेका थिए ।

चतुर स्वभावका कालु पाँडे कूटनीतिमा पनि अब्बल थिए । त्यसैले पृथ्वीनारायण शाहले पनि उनलाई भन्ने गर्थे – ‘कालु लडाइँका कुरामा म भन्दा तँ जान्दो रहेछस्, अब कटक लडाइँ बिना तेरा सल्लाह गर्ने छैन।’ यसले प्रस्ट हुन्छ कि कालु पाँडे कूटनीतिमा पनि उत्तिकै अब्बल थिए ।

वि.सं. १७७० मा गोरखामा जन्मिएका कालु पाँडेले वि.सं. १८१४ जेठ १९ मा कीर्तिपुर युद्धमा विगरगति प्राप्त गरे ।

आज हामी उनै कालु पाँडेले राष्ट्र निर्माणका निमित्त गरेका महत्वपूर्ण बलिदानी र उनले छाडेर गएका सुन्दर किस्साका बारेमा स्मरण गर्दै छौं ।

पूर्वजर्नल पवन पाँडेका अनुसार गोर्खाली फौजले उपत्यका आक्रमणअघि उपयुक्त ठाउँका रूपमा दहचोकलाई रोज्यो । उनी भन्छन् – ‘यो नै उहाँहरूको रणनीतिक भूमि बन्यो। पहिलो पटक कीर्तिपुरमाथि आक्रमण गर्दा ऊसँग फोर्स रेसियो बढी थियो। युद्ध गर्दा शत्रुका एक सय जना हुँदा आफ्नो कम्तीमा तीन सय जना हुनुपर्छ। त्यसो हुँदा विजयी भइन्छ। कीर्तिपुरसँग फोर्स रेसियो बढी हुँदा पृथ्वीनारायण शाहले कालु तिमी डरायौं भनेर सोध्नुभएछ । त्यसपछि सरकारको आदेशको पालना गर्छु भन्दै कालु पाँडेको नेतृत्वमा फौज युद्धमा होमियो । भित्रभित्रै हौसला नगिरे पनि कम संख्यामा भएकाले कतै पराजित भइन्छ कि?, मारिन्छु कि भन्ने उहाँलाई लागेको रहेछ। उहाँले युद्धमा जाँदा विरगति प्राप्त भए मलाई यो ठाउँमा गाडी दिनु भन्नु भएको थियो। उहाँले गोरखा र मनकामना देखिने गरी आफूले वीरगति प्राप्त गर्दा गाडिदिनु भनेकाले उहाँको इच्छा अनुसार नै यही भूमिमा गाडिएको हो।’

कालु पाँडेको समाधिस्थल एक हजार ९०० मिटर उचाइमा छ । समाधिस्थल भित्र पस्ने गेटको छेवैमा नेपाली सेनाले निर्माण गरेको कालु पाँडे ट्रस्टको सानो भवन । समाधिस्थललाई पर्खालले घेरिएको छ। कालु पाँडेबारे सुनौला अक्षर कुदिएका शिलालेखहरू छन्। समाधिस्थलको एकछेउमा सहरपट्टि पिठ्यूँ फर्काएर उभ्याइएको कालु पाँडेको पूर्ण कदको सालिक छ।

त्यो सालिकमात्र होइन, इतिहास हो । इतिहास निकै अग्लो र गर्विलो हुन्छ। आज हामी जुन स्वाधीनता र स्वाभिमानका साथ नेपाली भएर बाचिरहेका छौं, त्यो कालु पाँडे जस्ता पुर्खाको त्याग र बलिदानको उपज हो । यो गौरवशाली इतिहासको हामीले निशंकोच र निःसन्देह चर्चा गर्नुपर्छ ।

समाधिस्थल पहिले त्यति व्यवस्थित थिएन । त्यसपछि पूर्वजर्नलपवन पाँडे लगायतका कालु पाँडेका पुस्ताले संरक्षणका लागि पहल गरे। त्यहाँ वरपरको जमिन किने र, उक्त महत्वपूर्ण समाधिस्थललाई अझै व्यवस्थित तुल्याए । पछि नेपाली सेनाले पनि संग्राहलय बनाइदियो । सरकारले सालिक निर्माणमा सहयोग गर्‍यो । अहिले ट्रस्टबाट समाधिस्थलको रेखदेख भइरहेको छ। समाधिस्थलमा सत्तल बनाउनमा पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाली सेनाको ठूलो देन रहेको छ ।

यस ऐतिहासिक स्थललाई थप ऐतिहासिक बनाउन कालु पाँडेका पुस्ताको महत्वपूर्ण योगदान छ । अहिले कालु पाँडेलाई सम्झिँदा पनि गौरव महसुस हुने पवन पाँडे बताउँछन् । अहिले राज्यको आँखासमेत उक्त समाधिस्थलसम्म पुगेको छ। अहिले आन्तरिक र बाह्य पर्यटकहरू समेत समाधिस्थललाई स्पर्श गर्न पुग्ने गरेका छन्।

समाधिस्थल वरपर बस्न र खान सुविधायुक्त होटेल छन् । प्रकृतिको सुन्दर काखमा गौरवशाली इतिहास बोकेको कालु पाँडेको सालिक अवलोकन गर्न उलेख्य मात्रामा पर्यटकहरु दहचोक पुग्ने गर्छन् ।

कोतघर 

इन्द्रदह डाँडोकै थाप्लोमा पृथ्वी नारायण शाहले उपत्यका आक्रमणका लागि बनाइएका पाँचवटा गढी छन्। गढीहरूकै बीचमा कोतघर छ। कोतघर भएर होला यो गाउँलाई ‘कोतगाउँ’ भनिँदोरहेछ। युद्धताका कोतघरमा हतियार भण्डारण गरिन्थ्यो ।

त्यस्तै, गोरखाबाट दसैँमा फूलपाती ल्याएर कोतघरमा राखेरमात्र काठमाडौं लैजाने प्रचलन थियो । जुन अहिले पनि यथावत छ ।

कालु पाँडेकै समाधिस्थलबाटगणेश हिमाल, मनासलु र धौलागिरि हिमाल प्रष्ट देखिन्छ । पश्चिमतर्फ नुवाकोट, धादिङ, मनकामना र गोरखा दरबारसम्मकै दृश्य देखिने भएकाले लडाइँका लागि उपयुक्त हुने भएकाले नै उक्त स्थानलाई रोजिएको हुनसक्ने जानकारहरू बताउँछन्।

कालु पाँडे र पृथ्वीनारायण शाहको गौरवशाली गाथा सुनाउँदै पवन पाँडे भन्छन्, ‘कालु पाँडेले मर्नुअघि ‘गोरखा र मनकामनाको दर्शन हुने गरी मेरो शिर समाधिस्थ गर्नू’ भन्नु भएको थियो रे। सोही अनुरूप उहाँको शिर समाधिस्थ गरिएको छ। यसले उहाँमा आफ्नो जन्मभूमिप्रति अगाध प्रेम रहेछ भन्ने दर्साउँछ। उहाँले युद्धको धेरै समय यहीँ दहचोकमा बिताएकाले आफूले वीरगति प्राप्त गर्दा यही गाडिदिनु भनेकाले यहीँ उहाँको समाधि तयार पारिएको हो।’

उपत्यकापट्टि पिठ्यूँ फर्काएर उभ्याइएको कालु पाँडेको पूर्ण कदको सालिक अगाडि रेन्ज कार्ड छ । जसमा मुग्लिङ, मनकामना, गोरखनाथ, गोरखा दरबार, धुन्चे, लाङटाङ हिमाल कहाँ छ देखाइएको छ। रेन्ज कार्डले कुन टार्गेट कहाँ छ भनेर जनाउने उनले बताए। यसले कुन दिशा कता पर्छ भन्ने पनि जनाउने उनको भनाइ छ।

सगरमाथा देख्न सकिने भ्यू टावर

कालु पाँडेको समाधिस्थलसँगै जोडिएको भ्यू टावर छ। पूर्व वडाध्यक्ष राजेन्द्र केसीको नेतृत्वमा भ्यू टावर निर्माण गरिएको हो । उक्त भ्यू टावरको २०७८ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

‘हामीले ३९ लाखबाट भ्यू टावर निर्माण सुरु गरेका हौं। त्यसपछि संघीय सांसद कृष्ण गोपाल श्रेष्ठले ५० लाख र प्रदेश सभा सदस्यले ४० लाख प्रदान गर्नु भयो। दोस्रो चरणमा वडाले पनि ५० लाख छुट्यायो। नगरपालिकाले २५ लाख सहयोग गर्‍यो। यसरी हामी झण्डै दुई करोड २७ लाख लागतमा पाँच तले भ्यू टावर निर्माण गर्न सफल भयौं। हामीले भ्यू टावर मल्टी प्रयोगका हिसाबले निर्माण गरेका छौं। यहाँ फास्टफुड खोल्ने योजना छ,’ केसीले भने।

उनले पाँच तले भ्यू टावरबाट मौसम सफा रहेको समयमा सगरमाथाको चुचुरोसमेत देख्न सकिने बताए। यसले पर्यटकको आवागमनमा ठूलो टेवा पुर्‍याइरहेको उनको भनाइ छ।

स्थानीय तारा बहादुर खत्री पनि पूर्व वडाध्यक्षको ठूलो योगदान रहेको बताउँछन्। जनप्रेमी नेता भएकाले आफूहरूका दुःख सुखमा पनि उनले साथ दिइरहेको खत्री बताउँछन्। भ्यू टावरको स्तरोन्नति भइरहेकाले आगामी दिनमा थप व्यवस्थित हुने उनले विश्वास व्यक्त गरे।

मनकामना मन्दिर

छेवैमा मनकामना मन्दिर छ। त्यो मन्दिरमा पनि गोरखाको मनकामना मन्दिरबाट शिला ल्याएर थापना गरिएको पूर्वजर्नल पवन पाँडेले सुनाए। अझैँ त्यसलाई व्यवस्थित बनाउने योजना रहेको उनको भनाइ थियो।

‘मेरो माइलो दाजु हिमालय पाँडे कालु पाँडे ट्रस्टको अध्यक्ष हुँदा मनकामना मन्दिर निर्माण गर्नु भएको हो। उहाँलाई धेरै सहयोगी मनहरूले निर्माण सामग्री प्रदान गरेर सहयोग गर्नु भएको थियो। पाँडे दाजुभाइले टेन्ट लगाएरै काम गरेका थियौं। २०७२ सालमा आएको विनाशकारी भूकम्पले मन्दिरमा क्षति पुर्‍यायो। त्यसपछि हामीले पुन:निर्माण गरेर अहिलेको अवस्थामा ल्याएका हौं,’ पवन भन्छन्।

मन्दिर पुन:निर्माणमा पुरातत्त्व विभाग, ट्रस्ट र वडा कार्यालयको सहयोग रहेको उनले स्मरण गरे।

कीर्तिपुरको तेस्रो युद्धमा गोरखा मनकामना मन्दिरबाट देउता ल्याएर ठूलो हवन बनाए पश्चात् आक्रमण गर्न जाँदा कीर्तिपुरबासीले आत्मसमर्पण गरेको किम्वदन्ती रहेको पवन सुनाउँछन्। तेस्रो पटकको युद्धको नेतृत्व वंशराज पाँडेले गरेका थिए। त्यसैले उनको नाममा मन्दिर छेवैमा वंशराज सत्तल निर्माण गरिएको छ। वडा कार्यालय, ट्रस्ट र आर्मीको सहयोगमा सत्तल निर्माण गरिएको हो । त्यहाँ विवाह,व्रतबन्ध र पूजा जस्ता धार्मिक कर्म गर्न सकिन्छ।

युद्ध जितेको गौरवशाली इतिहासनै लज्जित हुनेगरि वर्तमान राजनीतिक दलका नेतृत्व र शासकहरुले विदेशी शक्तिसँग आत्मसमर्पण गर्ने,राष्ट्रलाई नै आघात पुग्ने गरि विभिन्न किसिमका असमान सन्धि सम्झौता गर्ने, वीर योद्धाहरुको बलिदानको बेवास्ता गर्दै इतिहास प्रति गर्व गर्ने ब्यक्तित्वको सालिक ढाल्ने लगायतका गतिविधि गर्दै वैदेशिक हस्तक्षेपलाई अझै बढावा दिएको देखिन्छ । राष्ट्रनायक पृथ्वीनारायण शाह र काजी कालु पाँडे लगायतका वीर बिरङ्गनाको बलिदानीले निर्मित स्वाभिमानी स्वतन्त्र अभिभाज्य देश नेपाललाई विदेशीको गुलाम बनाउने नीतिमा राजनीतिक दलहरुनै लागि परेको देखिन्छ। जसका कारण पृथ्वीनारायण शाहको ‘एकीकरण’ र काजी कालु पाँडेको ‘बलिदानी’ले अझै न्याय पाउन सकेको छैन ।

अत: पृथ्वीनारायण शाहको दुरदर्शिता,काजी कालु पाँडेको चतुरो रणनीतिक योजना र वीर योद्धाहरुको समर्पण यवम् वलिदानीप्रति  सम्मान गर्दै देशको गौरवशाली इतिहासलाई जोगाउनु हरेक राष्ट्रभक्त नागरिकको दायित्व हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *