गरिमा विकास बैंकको गरिमाय डेढ दशक : उत्कृष्ट योजना, ग्राहकमैत्री सेवा प्रवाहमा अब्बल

काठमाडौं । हामी जति ठूलो योजना र सपनाका साथ कामको थालनी गर्छौं, त्यसले दिने नतिजा पनि सोही अनुरुप हुनेगर्छ। सपना देखेरमात्र हुँदैन, योजनालाई फत्ते गर्न चरणवद्ध रूपमा कार्यन्वयन गर्दै अघि बढ्नुपर्छ। भनिन्छ, माइलको यात्रा तय गर्न एक कदमबाट सुरु गर्नुपर्छ। सुरूवात नै गन्तव्यमा पुग्ने बलियो आधार हो। हामी हिँड्ने बाटो सही छ भने त्यसले सजिलै गन्तव्यमा मात्र पुर्‍याउँदैन, उचाइ पनि चुल्याउँछ।
यसैको उदाहारण हो, गरिमा विकास बैंक।

२०६४ कात्तिक १८ मा स्याङ्जाको वालिङबाट बैंकिङ सेवा सुरु गरेको गरिमाको इतिहास पनि गरिमामय छ। त्यसैले त ग्राहकले गरिमाको नाम गर्विलो र ओजिलो रूपमा लिने गर्छन्।

गरिमाले चुनौतीका कयौं भीमकाय पहाड उक्लिँदै सफलताका सुन्दर फूलहरु फुलाएको छ। थुप्रै अनुभव बटुलेको छ। र, ती अनुभवले अघि बढ्न थुप्रै पाठ पनि सिकारहेको छ। यी सबै अनुभवले ब‌ैंकलाई झनै मजबुत बनाएको छ। डेढ दशकअघि विकट ठाउँमा जन्मिएको गरिमा विकास बैंकले छोटो समयमै ठूलो उपलब्धि हासिल गरेको हो।

छोटो समयमा नै अब्बल

गरिमा विकास बैंकले छोटो समयमा आफूलाई अब्बल बैंकको रूपमा स्थापित गरेको छ। तत्कालिन समयमा वालिङ बैंकिङ पहुँचभन्दा बाहिर थियो । त्यसपछि त्यहाँका अग्रज व्यक्तित्वहरूको सहभागितामा बैंक खोल्ने निर्णय भयो । त्यसपछिको भेलाले सबैलाई नाम प्रस्ताव गर्न भनियो। भिन्न नामहरू आएपछि सर्वोकृष्ट नाम छनोट गर्दै गरिमा विकास बैंक राख्ने सर्वसम्मति भयो। अनि जन्मियो गरिमा विकास बैंक।

स्याङ्जा, पाल्पा र कास्की जिल्लाबाट सेवा सुरू गरेको गरिमा विकास बैंकले विस्तारै आफ्नो क्षेत्र विस्तार गर्दै लग्यो। सुरुमा तीन जिल्लाका दुर्गम ठाउँबाट कृषि र साना तथा मझौला उद्यमलाई प्राथमिकतामा राखेर काम गरेको बैंक क्षेत्रीय हुँदै छोटो समयमै राष्ट्रियस्तरको बैंक बन्न सफल भयो।

२०६८ चैत्र २० मा १० जिल्ला अर्थात् क्षेत्रीय विकास बैंकको रूपमा स्थापित भएको बैंक २०७२ असार २९ मा तत्कालिन निलगिरी विकास बैंकलाई गाभेपछि गरिमा राष्ट्रियस्तरको विकास बैंकको रूपमा स्तरोन्नति भयो। वालिङ, गल्याङ, पोखरा हुँदै काठमाडौं आइपुगेको गरिमा विकास बैंक अहिले सातै प्रदेशमा फैलिएको छ।

बैंकले ९ वटा क्षेत्रीय कार्यालय, १ सय २३ शाखा र ५१ स्थानबाट एटिएमसहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकसँग सात लाखभन्दा बढी सेवाग्राही जोडिएका छन्। जसमा ३ लाख ७५ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता, एक लाख ३० हजारभन्दा बढी डेबिट कार्डबाहक, ५४ हजारभन्दा बढी क्यूआर सदस्य छन्।

सुरुमा ६१ जना संस्थापक सेयरधनीबाट साढे दुई करोड पुँजी लगानीमा स्थापना भएको गरिमा विकास बैंकको चुक्ता पुँजी हाल पाँच अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

मर्जरपछि झन् बलियो

अधिकांश बैंक तथा वित्तीय संस्थामा मर्जरपछि खटपटमात्र देखा पर्दैन, वित्तीय सूचकहरूमा समेत नकारात्मक प्रभाव पर्ने गर्छ। तर, गरिमा विकास बैंक यस सन्दर्शभमा झनै बलियो भएको देखिन्छ।

गरिमाले २०७२ असार २९ मा निलगिरी विकास बैंकलाई गाभ्यो। १० जिल्लामा मात्र सीमित रहेको बैंक निलगिरीलाई गाभेपछि राष्ट्रिय स्तरको विकास बैंक बन्यो। त्यसपछि, २०७३ असोज ४ गते सुभेक्षा विकास बैंकलाई मर्ज गरेपछि बैंकले पोखरास्थित प्रधान कार्यालयलाई काठमाडौंमा स्थानान्तरण गर्‍यो। मर्जरसँगै बैंकको पुँजी वृद्धिपछि बैंकले व्यवसायलाई थप फराकिलो बनायो। १४ वटा शाखामा सीमित बैंकले एकै वर्षमा ६० शाखा विस्तार गर्‍यो।

त्यसैगरी गरिमाले २०७८ कार्तिक २८ गते सहारा विकास बैंकलाई एक्‍वाएर गर्‍यो। तीन वटा अन्य बैंकसँग जोडिएर गरिमा बैंक थप शसक्त भएर अगाडि बढ्यो। थप सशक्त भएर बैंकले प्रत्येक पक्षलाई व्यवस्थापन गर्दै अघि बढेकोले आफूलाई अब्बल बनाउँदै लगिरहेको छ। पोष्ट मर्जर व्यवस्थापनलाई कुसलता देखाउँदा बैंक थप बलियो बनेको छ।

आफूहरूको रणनीतिक योजना र अन्य बैंकसँगको मर्जरपछि थप बलियो बनेको बैंक सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद बस्याल बताउँछन्। उनी भन्छन्, ‘हामीले कही कतै विभेद हुन दिएनौं। कर्मचारीहरू, सञ्चालक समितिका साथीहरू, सेयरधनीहरू, ग्राहकहरू सबैलाई समान व्यवहार गर्छौं। हामीलाई मर्जरले थप बलियो बनायो। र, आज यो उचाइमा छौं।’

बलियो वित्तीय सूचक

गाउँदेखि शहर, हिमाल पहाडदेखि तराई भन्ने नारा बोकेको गरिमा विकास बैंक वित्तीय सूचकमा समेत अब्बल रहेको छ। हाल सञ्चालनमा रहेको १७ वटा विकास बैंकमध्ये गरिमा बैंक सबै वित्तीय सूचकमा अब्बल छ।

गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६१ करोड ५४ लाख रुपैयाँ सञ्चित छ। बैंकको कूल सम्पत्ति ८९ अर्ब १६ करोड २८ लाख छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले १ अर्ब २६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। एक वर्षको अवधिमा बैंकको नाफा २२.७८ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। यसले बैंकको व्यवसाय विस्तारमा अझै फैलावट भएको देखाउँछ। गत असार मसान्तसम्म बैंकको निक्षेप संकलन १२.२४ प्रतिशतले बढेर ७९ अर्ब ६ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह पनि ६.६३ प्रतिशतले बढेर ६४ अर्ब ९३ ७ लाख पुगेको छ।

बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाह कार्यलाई सन्तुलित राख्नुका साथै नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम गर्दै आइरहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको सिडी रेसियो ८२.८९ कायम राखेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३८ पैसा रहेको वित्तीय विवरणले देखाएको छ।

हात खाली नहुने लाभांश इतिहास

बैंकले आर्थिक वर्ष २०६७/६८ देखि हालसम्म निरन्तर सेयरधनीलाई लाभांश वितरण गर्दै आइरहेको छ। त्यसैले बैंक सेयरधनीको हात खाली नबनाउने बैंकमा पर्छ। आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीलाई १८ प्रतिशत नगद लाभांश वितरण गरेकोमा त्यसयता कहिल्यै हात रित्तो बनाएन।

आव २०६८/६९ मा १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत, आव २०६९/७० मा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत, २०७०/७१ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत, आव २०७१/७२ मा २० प्रतिशत बोनस र आव २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

त्यसैगरी आव २०७३/७४ मा १५ प्रतिशत बोनस सेयर, आव २०७४/७५ मा १० प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी कूल १३.७५ प्रतिशत, आव २०७५/७६ मा १६.१५ प्रतिशत बोनस र ०.८५ प्रतिशत नगद गरी कूल १७ प्रतिशत, आव २०७६/७७ मा १३.५ प्रतिशत बोनस र ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१ प्रतिशत र आव २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

अघिल्लो आव २०७८/७९ मा बैंकले आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गरेको थियो।

गत आर्थिक वर्ष २०७९/८० का लागि बैंकले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कूल १० प्रतिशत लाभांश घोषणा गरेको छ। उक्त लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन्।

यस्तो छ, आगामी कार्ययोजना

गरिमा विकास बैंकले ग्राहकको सेवालाई उच्च प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको छ। विकास बैंकमध्य ‘नम्बर वान’ बैंक बन्ने गतिका साथ गरिमा बैंक अघि बढिरहेको छ। बैंकले प्रविधिको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ। समयानुकूल प्रविधिको प्रयोगले मात्र स्तरिय सेवा दिन सकिन्छ भन्ने बैंकले बुझेको छ। र, सोही अनुरुप अगाडि बढिरहेको देखिन्छ।

बैंकले प्रविधिबाट हुनसक्ने जोखिमलाई समेत मध्यनजर गर्दै बलियो प्रविधिमा ध्यान दिएको देखिन्छ। बैंक ग्राहकलाई सरल र सहज सेवा प्रवाह गर्नेतर्फ केन्द्रीत छ।

विकास बैंकबाट वाणिज्य बैंक बन्ने उद्देश्यका साथ आफूलाई बलियो रूपमा अगाडि बढाइरहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोबिन्दप्रसाद ढकाल बताउँछन्। उनी भन्छन्, ‘हाम्रो लक्ष्य भनेको कमर्सियल बैंक बन्ने हो। सोही अनुरुप हामीले गतिविधि अगाडि बढाइरहेका छौं। राज्यले लागू गर्ने नीतिलाई हामीले अवलम्बन गर्नै पर्छ। राष्ट्र बैंकले वाणिज्य बैंकको लाइसेन्स खुलायो भने हामी सम्पूर्ण नियम, पूर्वाधार तयार गरेर वाणिज्य बैंकको प्रक्रिया थाल्ने छौं।’

आगामी दिनमा जुन ठाउँमा बैंक आवश्यक छ, त्यस्ता ठाउँमा आफ्नो पहुँच पुर्‍याउँदै लैजाने योजना रहेको उनले बताए। बैंकले साना तथा मझौला उद्यम र कृषि क्षेत्रलाई केन्द्रमा राखेर काम गर्दै आएको उनको भनाइ छ।

बैंकको दायरालाई अझ शशक्त रूपले अगाडि बढाउँदै लैजाने सीईओ ढकाल बताउँछन्। बैंकले बिनाधितो ऋण, महिला उद्यमी कर्जामा समेत उल्लेख्य लगानी गर्दै आइरहेको छ। आगामी दिनमा पनि यस्ता लगानीमा निरन्तरता दिने योजना रहेको बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *