काठमाडौं । हरेक मौसमको आ-आफ्नै विशेषता हुन्छ। मौसम अनुसार खानेकुरामा ध्यान दिनुपर्छ। चिसो मौसममा खासगरी बालबालिका तथा बिरामी र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गर्छन्। यस्तो मौसममा दमका बिरामीले विशेष ख्याल राख्नुपर्छ।
जाडोमा शरीलाई विभिन्न पोषक तत्वको आवश्यकता पर्छ। गर्मी मौसम भन्दा चिसो मौसममा मानिसको शरीरलाई अली बढी पोषक तत्वको आवश्यकता हुन्छ। मौसममा शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर हुन्छ।
सन्तुलित आहारले प्रतिरक्षा प्रणालीलाई बलियो तुल्याउँछ। त्यसका लागि पोषक तत्वयुक्त आहारको सेवन गर्नुपर्छ। किनकि चिसो मौसममा शरीरमा तापक्रम कम हुने र त्यसलाई सन्तुलित राख्न ऊर्जा प्रदान गर्ने आहारको आवश्यकता पर्ने भएकाले सन्तुलित आहारमा ध्यान दिनुपर्छ।
शरीर न्यानो राख्न शक्तिवर्द्धक खानेकुरा जस्तै मौसम अनुसार पाइने फलफूल, सागपातको सेवन गर्नुपर्छ। मौसम अनुसारका फलफूल पोषक तत्त्वले भरिपूर्ण हुन्छन्। कतिपय खानेकुरा चिसोमा पाइने हुन्छ तर ग्यान नभएको कारण हामी त्यस्ता खाद्य पदार्थको सेवन गरिरहेका हुँदैनौं।
हाम्रो समाजमा त चिसोमा यी खाने कुराको सेवन गर्नु हुँदैन, गर्मीमा यी खाने कुराको सेवन गर्नु हुँदैन भनेर गलत व्याख्या हुने गरेको पनि पाइन्छ। तर, त्यो व्याख्याको पछाडि कुनै वैज्ञानिक कारण हुँदैन।
जाडोमा के खाने?
१. सुप, ताजा तरकारी तथा सागपात, कन्दमुलको सेवन गर्नुपर्छ। यस्ता खानेकुराहरू पोषक तत्त्वले भरिपूर्ण हुन्छन्। यी शक्तिवर्द्धक पनि हुन्छन्। यस्ता खानेकुरामा प्रचुरमात्रामा भिटामिन ए, सि, बि, बि १२, कार्वोहाइड्रेड जस्ता पदार्थ रहेका हुन्छन्।
२. दूध-बेसारको सेवन पनि चिसो मौसममा निकै लाभदायक हुन्छ। चिसो लागेपछि दूधमा बेसार मिलाएर खाने चलन अझैँ पनि हामी कहाँ छ। यसले स्वास्थ्यमा निकै लाभ पुगाउने विभिन्न अध्ययनले देखाउने गरेको छ।
३. हामी चिसो मौसममा मोहिको सेवन गर्न डराइरहेका हुन्छौं। तर, खान जानेमा मोहिले पनि चिसो मौसममा स्वास्थ्यमा लाभ पुर्याउँछ। चिसोमा मोहि मनतातो पानी राखेर सेवन गर्नुलाई बुद्धिमता मानिन्छ।
४. मसरुम सुप, कुरिलोको झोल, निउरोको सागको सेवन पनि चिसो मौसममा निकै लाभदायक हुन्छ।
५. फर्सिको सुप, इसकुसको तरकारी, ओटस, क्वाटी, टोफु, सोयाबिनको सेवन लाभदायक हुन्छ। काउली, ब्रोकाउली, सिमिलगायत सबै खाले गेडागुडीको सेवनले चिसोबाट जोगाउन र शरीरमा रोग प्रतिरोधात्मक क्षेमता बढाउन मद्दत गर्छन्।
६. चिकेन, ब्रोथको सुप, सालमोन माछाको सुप पनि चिसो मौसमबाट जोगिने अचुक उपाय नै हो। सालमोन माछा त झनैँ भिटामिन ‘डि’को प्रचुर स्रोत हो।
७. ओखर, मेथी र तिलको लडडु, खिर, फापर र कोदो रोटी, बेथेको सुपले पनि स्वास्थ्यमा निकै फाइँदा पुर्याउँने अध्ययनले देखाएको छ। यस्ता खानेकुराको सेवन गरिसकेपछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ।
८. चिसो मौसममा ग्रीन टी, हर्बल टी, मोरिङा टी, ब्ल्याक टी, लेमन टी, काढा आदिको सेवन गर्न सकिन्छ। मसलामा दालचीनी, ल्वाङको प्रयोग गर्नुपर्छ।
चिसो मौसममा स्वस्थ रहनका लागि शरीरिक व्यायाममा पनि ध्यान दिनुपर्छ। जाडो मोसममा घरमै योगा गर्न सकिन्छ। खानपानका कारण चिसोमा तौल बढ्ने भएकाले तौल सन्तुलनमा पनि ध्यान दिनुपर्छ।




